• २०८१ जेठ ६ आइतबार

सप्तरीमा प्रतिबन्धित लागु औषधसहिँत चार जना पक्राउ

kharibot

सप्तरी । सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध सहिँत प्रहरीले चार जना पक्राउ गरेको छ । जिल्लाको सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट सो परिमाणको लागूऔषधसहिँत प्रहरीले उनिहरूलाई पक्राउ गरेको हो ।

राजविराज वडा नम्बर २ स्थित हिमालय राइस मिल एवंम् गुलाब ग्यारेज अगाडी पार्किङ्ग गरेर राखिएको ना ८ ख ५८३७ नम्बरको विशाल मेट्रो रात्री बसमा खानतलासी गर्दा २ हजार २ सय थान नाइट्राभेट ट्याब्लेट, एसपीएम प्रोक्सिभोन लेखिएको २ सय ८८ क्याप्सुल र डाइलेक्स डिसी एक सय एमएमलको ३ सय ९९ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्ले बताएका छन् ।

रात्रीबसबाट ठूलो परिमाणमा लागूऔषध ओसार पसार भइरहेको सूचनाको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसका सह-चालक कञ्चनरुप नगरपालिका वडा नं.८ बस्ने ३६ वर्षिय संजय भुजेल रहेका छन् । भुजेल पक्राउ परे पछि अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध बोदे बर्साइन नगरपालिका वडा नं.५ जाँजर बस्ने २१ वर्षिय अब्दुलले अटो रिक्समा लोड गरी बसमा पुर्‍याएको देखिए पछि उनलाई पनि पक्राउ गरिएको एसपी काफ्लेले बताए ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ भारदह स्थित कंकालिनी मन्दिर अगाडीबाट ब्राउन सुगर सहिँत दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.०१.००१.प.३१४० नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा ८ ग्राम ५ सय ५० मिलीग्राम ब्राउन सुगर फेला परेको सप्तरीका एसपी काफ्लेले बताए ।

लागूऔषध बरामद भए पछि मोटरसाईकलमा सवार सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका वडा नं.३ बस्ने २८ वर्षिय प्रमानन्द साह र सिरहा कै धनगढीमाई नगरपालिका वडा नं.११ बस्ने २८ वर्षिय दिपेन्द्र कुमार महतो रहेका छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

उनीहरु बिरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवंम् प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै