काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनौट खेल अन्तर्गत ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।
शुक्रबार सम्पन्न खेलमा ब्राजिलले उरुग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरेका थिए भने नेइमार र गाब्रियल बारबोसाले एक एक गोल गरेका थिए ।
त्यस्तै उरुग्वेका लागि एक गोल लुइस स्वरेजले फर्काएका थिए ।
यो जितसँगै ब्राजिल विश्वकप छनौटमा अपराजित रहेको छ । ब्राजिलले ११ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेल बराबरी खेलेको छ । ब्राजिल ३१ अंकसहित अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै उरुग्वेको भने १२ खेलमा यो चौथो हार हो । उरुग्वेको ४ जित र ४ बराबरीसहित १६ अंक छ र अंकतालिकामा पाँचौं स्थानमा रहेको छ ।