• २०८१ बैशाख १६ आइतबार

चर्वाक दर्शन

kharibot

विपुल सिजापति

नेपाली समाजमा एउटा उखान प्रचलित छ, “मरेपछि डुमै राजा ।” हेर्दा साधारण लाग्ने यो उखान त्यसै जन्मेको भने पक्कै होइन । यसको उपतिमा बृहत् दर्शन छ, व्यावहारिक सत्यता छ, जीवन भोगाइको निचोड र सत्यता छ, धरातलीय यथार्थता छ । सामान्य जनमानस प्रत्यक्ष प्रमाणद्वारा मात्र हरेक कुराको छिनोफानो गर्ने ल्याकत राख्छ, बौद्धिक तर्क गर्ने र तर्कलाई समर्थन गर्ने ल्याकत सामान्य जनमानस राख्दैन । अर्को कुरा, जनमानसहरू परिणामलाई महत्त्व दिन्छन् । औषधी खाएपछि रोग निको हुन्छ, व्यथा कम हुन्छ त्यो सामान्य प्रकियागत परिणाम हो । कुनै धार्मिक अनुष्ठान अनुष्ठान गरेपछि, भाकल गरेपछि या बली दिएपछि सामान्य जनमानस त्यसको परिणाम कुरेर बस्दछ, परिणामबाट नै उसको आस्था र विश्वासको निर्क्यौल हुन्छ । औषधी खाएपछि रोग निको भएको देखेका जनमानसले धार्मिक अनुष्ठान, भाकल या बलिलाई पनि औषधीकै रूपमा लिन्छ र परिणाममा आफ्नो मनोकाङ्क्षा पूर्ण नभएमा विमोह, अविश्वास र अनास्था सुरु हुन्छ र यसको जरा यति गहिरो धसिन्छ कि आजन्म उक्सिन सक्दैन ।

यी जनमानस, जो स्वावलम्बी हुन्छन्, मेहनत गरेर बालबच्चा पाल्दछन्, तिनीहरू धरातलीय यथार्थतालाई आत्मसात् गर्दछन्, भौतिकवादी हुन्छन्, इन्द्रियज्ञानले जे देख्दछन् त्यसैमा विश्वास गर्दछन्, यसैले मृत्युपछिको भोगमा विश्वास राख्दैनन्, ज्युँदैमा भोगिने गरिने कार्यमा विश्वस्त हुन्छन् । त्यसैले मारवाडीहरूको “बाँचे पित्तर माँड नही मरे पित्तर खाँड“ भन्ने लोकोक्ति वास्तवमा अध्यात्मवादीहरूको आत्मा, शरीर, मोक्ष र परालोकको काल्पनिक उडानको विरुद्धमा उभिन्छ । बाँचुन्जेल पितृलाई (वृद्ध आमाबुबा, ज्येष्ठ) माँड समेत नदिने तर मरेपछि खाँड (भोजभतेर) गर्ने प्रवृत्तिप्रति लक्षित यो लोकोक्ति वास्तवमा आत्मवादीहरूको ईश्वर, आत्मा, परालोक र मोक्ष जस्ता प्रमेय कुरालाई काट्ने भौतिकवादीहरूको एक टुक्रा धारिलो तर्क हो जसले अध्यात्मवादीहरूलाई रन्थनाएर वेवाक बनाउँछ । लोकबाटै उद्गम भएको यस भौतिक दर्शनलाई सामान्य रूपमा चार्वाक दर्शन भन्ने गरिन्छ ।

सामान्यतया अध्यात्मवादी या आत्मवादीहरूले थोरै घृणा गरेर लिने दर्शन हो चार्वाक दर्शन । तर अध्यात्मवादी या आत्मवादीहरूको घृणामा एकातिर डर मिश्रित हुन्छ भने अर्कोतिर लज्जा । आत्मवादीहरूले चार्वाक दर्शनको नाममा व्यङ्ग्य गरेर जब “यदा जीवेत सुखं जीवेत, ऋणं कृत्वा, घृतं पिबेत्” (जबसम्म बाँच्दछौ सुखपूर्वक बाँच, ऋण गरेरै भए पनि घ्यु पिऊ) भन्ने ऋचालाई अगाडि सार्दछन्, जीवन र जगतभन्दा परको परालोक, परमात्मा र मोक्षप्रति अनाशक्त पाखण्डी (यही शब्द भागवतमा असुरमतका अनुयायीहरूलाई प्रयोग गरिएको छ) भन्दै होच्याउने गर्दछन् । प्रत्यक्ष इन्द्रिय ज्ञानभन्दा अन्य ज्ञान श्रोतलाई अस्वीकार गर्दै प्रत्यक्ष प्रमाणहरूलाई मात्र मानेर अभौतिक आत्मा, ईश्वर, परालोक र पुनर्जन्ममा अविश्वास गर्ने विशुद्ध अध्यात्मवादी र भौतिकवादी वेदवाह्य दर्शन भएकोले वेदप्रति निष्ठा, आस्था या अविश्वास गरेर तर्क र प्रमाणको आधारमा पुष्टि गर्न खोज्ने दर्शन भएकोले यसलाई नास्तिक दर्शन भनेर हेय दृष्टि पनि राख्ने गरिएको छ । वेदसँग असम्मत सिद्धान्तहरूको प्रतिपादन गरिएका वेदवाह्य दर्शनहरू चार्वाक, माध्यमिक, योगाचार, सौत्रान्तिक, वैभाषिक, र आर्हत मध्ये सबैभन्दा प्रतिष्ठित, मान्य दर्शन भनेको चार्वाक दर्शन नै हो ।

ऋग्वेदका ऋचाहरूका आधारमा हेर्दा आर्यहरूको प्रथम नायक इन्द्र देखिन्छन् । ऋग्वेदका थुप्रै ऋचाहरूमा इन्द्रलाई “हाम्रो रक्षा गर, हाम्रो लागि मार काट, नष्ट गरिदेऊ,” आदि बिन्ती गरेर रक्षक या दाताको रूपमा गुहारिएको छ । वैदिक आर्य कालमा इन्द्र कुनै व्यक्ति नभएर निश्चय नै रक्षक, राजा या नेता समानको कुनै एक पद थियो । भौतिक देहधारी इन्द्रलाई सुरुमा रक्षक, तारणहार, मुक्तिदाताको रूपमा मानिएर ऋचाहरूका माध्यमबाट आह्वान गरियो । कालान्तरमा सदृश्य इन्द्रको स्थान बिस्तारै अदृश्य इन्द्रले लिँदै गयो । बिस्तारै वैदिक आर्यहरूको यही भावले अदृश्य इन्द्रलाई पनि मन्त्रद्वारा आव्हान गरिन थालियो । वस्तुतः मन्त्र द्वारा आह्वान गरिने गरिएको यिनै इन्द्र एक आत्मिक शक्ति हुन गए । बिस्तारै स्वैरकल्पना गर्दै अनुमानको आधारमा यिनै अभौतिक इन्द्रभन्दा पनि माथिको परालौकिक शक्तिशाली ईश्वरको कल्पना गर्न थालियो । अध्यात्मवाद या भाववादको सुरुवातको विन्दु यही थियो । वैदिक कालपछि उपनिषद कालमा आएर ईश्वर सम्बन्धी बृहत् व्याख्या मात्र भएन, अपितु राहुल सांस्कृतायनका अनुसार वेदको व्याख्या गर्दै वेदानुसार नै उपनिषदद्वारा शरीर र आत्मा दुई पृथक् तत्त्व हुन भन्ने धारणा पनि अगाडि आयो । आत्मवाद दर्शनका व्याख्याता याज्ञवल्क्यले आत्मा तथा परलोकवादलाई समेत वेद सम्मत स्विकारेको देखिन्छ । ईश्वर र मोक्ष प्राप्ति गरेर परलोक सुधारको को लागि प्रसाद चढाउनु र यज्ञ गर्नु वैदिक आर्यहरूको धार्मिक संस्कार थियो । तथापि वैदिक आर्यको दर्शन, संस्कार र मत विपरीत “नास्ति दत्तम्, नास्ति हुतम्, नास्ति परलोकम् इति,” (प्रसाद चढाउनु, यज्ञमा आहुति दिनु व्यर्थ छ, कुनै परलोक छैन) भन्ने मतावलम्बीहरू पनि समानान्तर छँदै थिए । आत्मा, मोक्ष तथा पारलौकिक सत्ताको सिद्धान्तलाई स्वीकार नगरेर प्रत्यक्ष इन्द्रिय ज्ञानभन्दा अन्य ज्ञान श्रोतलाई अस्वीकार गर्ने भौतिकवादी दर्शनको सुरुवात या उत्पत्तिको कहाँ भयो या यस दर्शनका ऋषि को हुन् भन्ने कुरामा भने एकमत छैन ।

सप्त सिन्धुमा आएका आर्यहरू पनि सबै विशुद्ध एकल आर्य जातिका भने थिएनन् । अपितु यसरी आएका आर्यहरूमा हित्ति, कस, पार्थ, यक्ष, सोकोल, राक्षस, कूर्म, गुप्त मात्र हैन गोफ, सुदामो जस्ता कृष्णवर्णका जातिहरूका मानिस पनि मिसिएर आएका थिए । तथापि, सुरुमा स्वेतवर्णका आर्यहरूको प्रधानता भए पनि पछि अन्य जातिका मानिसहरू पनि आर्यहरूसँगै सप्तसिन्धव आए । सप्तसिन्धव आउँदा नै इन्द्र मान्ने वैदिक आर्य र इन्द्र नमान्ने आर्यहरू छुट्टिइसकेका थिए । सप्त सिन्धुमा यिनै इन्द्र मान्ने आर्यहरूको बहुलता थियो । वेदका ऋचाहरू एक समान नहुनु र विचारमा विविधता या द्वन्द्व हुनुको कारण यही जातीय पृथक् मत हो । उदाहरणको लागि गोमांस भक्षणलाई लिन सकिन्छ । शितोष्ण प्रान्तबाट आएका आर्यहरूले वेदमा गोमांसको समर्थन गरे । हिमाच्छादित प्रदेशमा धेरै टिक्ने भएकोले अधिक मांसधारी गोरु काटिनु स्वाभाविक हो र यसैको स्वाद प्रचलनका कारण गोमांस भक्षण मान्य भयो तर यसको विपरीत उष्ण प्रदेशबाट आएका या रैथाने जातिको लागि भने यो अमान्य भयो । यसैले वेदमा गोमांसलाई लिएर पृथक् विचार वोकेका ऋषिहरूले पृथक् ऋचाहरू लेखेका छन् ।

इन्द्रलाई मान्ने र नमान्ने दुवै बिचारका ऋषिहरू वेदकाल अघिदेखि नै हुनुको पछाडि यही जातिगत कुरा थियो । फलतः अहुरमज्द मान्नेहरू र इन्द्र मान्नेहरू सर्लक्क छुट्टिए, इन्द्र मान्नेहरू सप्तसिन्धु आए । अहुरमज्द मान्नेहरू उत्तरपश्चिममै छुटे, तर दक्षिणपूर्व आएका आर्यहरूसँग फेरि माथि उल्लेख गरिएका जातिहरू पनि आए । तर जातिय कारणले गर्दा इन्द्रलाई नै प्रमुख देव मान्ने नमान्ने द्वन्द्व भने चली नै आएको देखिन्छ । वेदका ऋचाहरूमा मतैक्यता नहुनु पछाडिको कारण पनि यही जातिगत विचार नै थियो । इन्द्र मान्ने र नमान्ने द्वन्द्व आखिर व्यास कालमा आएर छताछुल्ल भयो । इन्द्र मान्ने आर्य जातिलाई पनि आखिरमा रैथाने कृष्ण जातिका व्यासले पराजित गरिदिए । गोवर्धन पर्वत उठाएको कथाद्वारा व्यासले एकातिर इन्द्रको पतन गराए भने अर्काेतिर आफ्नै जातिको कृष्णलाई देवता मात्र मनाएनन्, विष्णुको पूर्ण मानव अवतार समेत प्रमाणित गरिदिए । महाभारतका कथाहरू (प्रक्षिप्त) व्यास पक्षकै कृष्ण जातिको लेखनी हो जहाँ कृष्णलाई अवतार मानिएको छ । गीताले त कृष्ण नै सम्पूर्ण भनिदिएको छ । आर्य र कृष्ण जातिको द्वन्दकै कारण पछि पुराणका कथाहरूमा इन्द्रलाई कामी, लोभी, छली आदि देखाएर चरित्रहत्या गर्दै उछित्तो काढिएको छ । यसरी कृष्णको स्थापना र इन्द्रको पतन पछाडिको कारण यही जातिय द्वन्द्व हो । अन्यथा इन्द्र मान्दै आएका आर्यले नै बिस्तारै वरुण, मित्र, अग्नि (अग्निलाई त महादेवको वीर्य समेत निल्न लगाइएको छ) हुँदै प्रमुखदेव इन्द्र कै समेत पतन गराउने कुनै कारण छैन । सप्त ऋषिका पत्नीहरू महादेवको लिङ्ग देखेर, “तप गर्दै बसेका हाम्रा कमजोर पतिहरूले काम सुख दिन सक्दैनन्,” भन्दै लोभिएर पछि लाग्नुले एकातिर यो कथा लेख्ने ऋषिले जातिय चरित्र उजागर गरेको छ भने अर्कोतिर महादेव पृथक् जातिको देवता थिए भन्ने प्रस्ट देखिन्छ । अन्यथा आफ्नै जातिका ब्राह्मणलाई यसरी हियाइन्न थियो । पुराणादीमा भएका यस्ता विभिन्न कथाहरूले आर्यहरू भित्र पनि अन्य जाति थिए भन्ने स्पष्ट हुन्छ ।

पूर्वीय सभ्यतामा चिन्तनको स्वतन्त्रता आदि कालदेखि नै थियो । वैदिक कालमा वैदिक आर्यहरू अग्निहोमादि गर्दथे भने प्रकृति पूजक पनि थिए, देव पूजक पनि थिए लिङ्ग पूजक पनि थिए । उपनिषद कालमा आत्मवादी चिन्तन पनि थियो अनात्मवादी या चार्वाक चिन्तन पनि थियो । पुराण कालमा आएर फेरि वैदिक धर्म वैष्णव र शैव मतमा अगाडि बढ्यो । यसै कालमा अवतारवादको पनि जन्म भयो । रामायण र महाभारत कालमा राम र कृष्ण ईश्वरांशका रूपमा स्थापित भए । बाह्रौँ शताब्दीमा वल्लभसमुदायले कृष्णसँग कल्पित राधालाई पनि जोडेर अर्को सम्प्रदायको सुरुवात गरे, निम्बार्क सम्प्रदायले यसको प्रचार प्रसार गरे, गर्दैछन् । सिरडि साइ र पुट्टपर्ति साइ अहिलेका अर्को सम्प्रदायका रूपमा अगाडि आएका छन् । यसरी वैदिक धर्मको आडमा विभिन्न मत, सम्प्रदाय, दर्शन चिन्तन  रामायण लेखिएको कालमा समेत वैदिक आर्य मतको समानान्तर चार्वाक मत पनि स्थापित थियो स्थापित थियो र यस मतलाई मान्ने विद्वानहरू थिए । ब्राह्मण हुँदाहुँदै पनि वैदिक परालौकिक मत या भाववादलाई अस्वीकार गरेर लोकमतको प्रचारमा स्वयं ब्राह्मणहरू नै लागेका थिए भन्ने कुरा जाबालिले रामलाई लोकमत स्वीकार गराउन गरिएको प्रयत्नबाट स्पष्ट हुन्छ । स्पष्ट कुरा के भने नेपालमा इसाई धर्मको व्याख्या र प्रचारप्रसारमा अगुवाका रूपमा पनि ब्राह्मणहरू नै देखिएका छन् ।

चर्वाक दर्शनलाई चार्वाक बाहेक विभिन्न नामहरू जस्तै, वृहस्पति सूत्र या बर्हस्पत्य मत, नास्तिक दर्शन, असुर मत, लोकवाद, लोकायत आदिले पनि सम्बोधित गर्ने गरिएको छ । यस दर्शनका अनुयायीहरू चारु (मीठो) वाक (बोली)ले साधारण मानिसहरूलाई फुस्ल्याउने भएकाले उनीहरूलाई चार्वाक भनेर नामाकरण गरियो भन्ने धारण केही विद्वानहरूको छ । केही विद्वानहरू यस दर्शनको संस्थापक वृहस्पतिलाई (देवताहरूका गुरु नभएर अर्कै) मान्दछन्, यसैले यसलाई वृहस्पति सूत्र पनि भन्दछन् । वेदप्रति अनास्थावान वेद विपरीत दर्शन भएकोले यसलाई नास्तिक दर्शन पनि भनिन्छ । प्राचीन सुमेरियनहरूमा मृत शरीरलाई उत्तम वस्त्र र गरगहनाहरूले सजाएर, मृतकलाई पनि खाद्य आवश्यक हुन्छ भन्ने सोचेर, आवश्यक खाद्य समेत मृत शरीरसँगै गाड्ने प्रचलन थियो । सुमेरियनहरूको यो मृतक शरीरलाई वस्त्र तथा गरगहनाले सजाएर गाड्ने प्रचलन थोरै फरक रूप तथा फरक विधिमा भए पनि अद्यावधि संसारमा छँदै छ । छन्दोग्य उपनिषदमा “असुरहरू मृतकलाई सुन्दर वस्त्रले सजाएर, गरगहना लगाइदिएर उनीहरूको लागि खाद्य सामग्री पनि राखेर गाडिन्थ्यो,” भन्ने उल्लेख भएको छ । वेदपूर्व इरानमा एकत्र भएका अग्निपूजक असुर र देव अर्थात् आर्यहरू बीच मतभेदको एक प्रमुख कारण भनेको यही अग्नि र यसको प्रयोग नै थियो, वेद र जेन्द अवेस्थामा र इन्द्र समर्थक र विरोधी मतावलम्बी जन्मिएको कारण यही थियो । असुरहरू अग्निलाई पवित्र मान्ने हुँदा मृत शरीरलाई अग्निमा जलाउँदैन थिए । तर अग्निलाई पवित्र मानेर अग्निहोत्र गर्ने गरे पनि आर्यहरू भने मृत शरीरलाई अग्निमै दाहसंस्कार गर्ने गर्दथे । अग्निको यही पवित्रता र प्रयोगलाई लिएर आर्य र असुर बीच मतभिन्नता भएको थियो । छान्दोग्य उपनिषदमा उल्लेख भएको असुरहरूको मृत्यु संस्कारका अनुसार हेर्दा सुमेरियनहरू नै वेदमा उल्लेखित असुर भएको पुष्टि हुन्छ ।

सुमेरियनहरूको दाहसंस्कारले वेदको परालोकवादलाई अस्वीकार गरेको देखिन्छ । आत्माको अस्तित्वलाई अस्वीकार गरेर शरीरलाई नै महत्त्व दिएर मृतक शरीरलाई आवश्यक खाद्य समेत राखेर गाड्नु र परालोक या मोक्ष अभौतिक भएको हुँदा लासलाई नजलाइनुले सुमेरियनहरू भैतिकवादी थिए भन्ने अर्थ लाग्दछ । यस अर्थमा सुमेरियनहरू आर्यहरूभन्दा धेरै अगाडिका भएकाले आर्यहरूको परलोकवादभन्दा भौतिकवाद निक्कै अगाडिको प्रतीत हुन्छ । माथि छन्दोग्य उपनिषदले सुमेरियनहरू नै असुर पुष्टि भएको आधारमा भौतिकवादी दर्शनलाई असुर मत भन्न खोजिएको हो । यसर्थमा, भौतिकवादी दर्शनको मूल सुमेरियन सभ्यतालाई मान्न सकिन्छ । चार्वाक सिद्धान्तहरूलाई बुझाउन बौद्ध पिटकहरूमा लोकायत शब्दको प्रयोग गरिएको छ । प्रत्यक्ष इन्द्रिय ज्ञानको आधारमा स्थापित सत्यमा विश्वास राख्ने, स्वर्ग, नर्क, मुक्ति या परालोकभन्दा यही लोकमा विश्वास राख्ने लोकको दर्शन प्रणाली भएकोले यसलाई लोकायत दर्शन पनि भन्ने गरिएको छ । राहुल सांस्कृतायन आत्मवादी तथा ईश्वरवादी दर्शनका प्रणेता याज्ञवल्क्य र अनात्मवादी तथा अनीश्वर वादी दर्शनका प्रणेता बुद्धलाई लगभग उस्तै उस्तै र समानान्तर समयका असमान दर्शनका व्याख्याता मान्दछन् । तथापि, वृहस्पति सूत्र, नास्तिक दर्शन, असुर मत, लोकवाद, लोकायत, भौतिक दर्शन भने वेद र बुद्धभन्दा पनि अगाडिकै नै देखिन्छ ।

चर्वाक दर्शनको बारेमा कतै कुनै मूल ग्रन्थ उपलब्ध छैन, तथापि रामायण, महाभारत, विष्णु पुराण, पद्य पुराण, लिङ्ग पुराण  लगायत विभिन्न पुराणहरूमा यस दर्शनका बारेमा उल्लेख या चर्चा भने भएका छन् । सर्वप्रथम मध्वाचार्यले आफ्नो कृति “सर्वदर्शन सङ्ग्रह“ मा यस दर्शनलाई लोकायत नामले उल्लेख गरेका छन् । रामायणमा ब्राह्मण जाबालिद्वारा रामचन्द्रलाई नास्तिक बिचार मान्न राजी गर्ने प्रयत्नबाट रामायण कालमा पनि लौकिकवाद या भौतिकवाद अस्तित्वमा थियो भन्न सकिन्छ । महाभारतको वन पर्वमा द्रौपदीले युधिष्ठिरलाई “आफू सानी हुँदा आफ्नो पिता र दाइहरूले एक ब्राह्मणसँग बार्हस्पत्य मतको अध्ययन गरेका थिए,” भनेर भनेकी छिन् । यसै गरेर महाभारतमै कुरुक्षेत्र महायुद्ध पश्चात् विजयी युधिष्ठिरलाई आशीर्वाद दिन नगर द्वारमा एकत्र हजारौँ ब्राह्मण मध्ये चार्वाक पनि थिए युधिष्ठिर नजिक आएपछि चार्वाक अगाडि बढे र भने, “तिमीले आफ्ना बन्धुबान्धवहरूको हत्या गरेका छौ, स्वजनको विनाश र गुरुजनको हत्या गरेर तिमीलाई के लाभ भयो ? म तिमीलाई श्राप दिँदै छु, तिमी मरेकै बेस ।” जम्मा भएका ब्राह्मणहरूले चर्वाकलाई असुर मतावलम्बी, दुर्याेधनको मित्र आदि दोष लगाएर जलाएर मारे । असुरहरूलाई भड्काउन बार्हस्पतले वेद विरुद्धमा मत प्रकट गरेका छन् भनेर पद्य पुराणमा उल्लेख भएको छ । बार्हस्पतले वेद विरुद्ध अन्य कुनै मत प्रकट गरेको नभएर यही लोकायत मत प्रकट गरेका थिए । विष्णु पुराणका अनुसार जति बेला दैत्यहरू धर्म बलद्वारा बलवान भए त्यति बेला दैत्यहरूसँग डराएका देवहरूको अनुनयमा विष्णुले मायामोहको एक पुरुष उत्पन्न गरेर दैत्यहरूलाई धर्ममार्गबाट भ्रष्ट गराउन लगाए भनेर लेखिएको छ । मायामोहले दैत्यहरूलाई दिएका उपदेशहरू मध्वाचार्य कृत सर्व दर्शन सङ्ग्रहमा दिइएका चार्वाक मतका श्लोकहरूसँग मिल्दछन् । लिङ्गपुराणमा मय दानवले बनाएको त्रिपुर विनाशको प्रसङ्गमा पनि शिवद्वारा अभिप्रेरित एक मुनिले धर्मनिष्ठ असुरहरूलाई यसरी नै धर्म विरुद्ध भड्काएको कथा लेखिएको छ । आत्मवाद भन्दा अनात्मवाद या भौतिक दर्शन अलिखित रूपमा लोकमा प्रचलित नै थियो तर यसको पुनरुत्थान भने उपनिषद कालको हाराहारीबाट नै भएको देखिन्छ ।

प्रमाणहरू चार प्रकारका छन्, प्रत्यक्ष प्रमाण, अनुमान प्रमाण, उपमा प्रमाण र शब्द प्रमाण । आत्मवादीहरू या वेद समर्थकहरू आत्मा, परालोक, ईश्वर र ईश्वरीय अवतारलाई प्रत्यक्ष प्रमाण बिना नै अनुमान प्रमाण, उपमा प्रमाण र शब्द प्रमाण द्वारा प्रमाणित गर्ने कोसिस गर्दछन् । आत्मवादीहरूको यस कार्यलाई चार्वाकहरू मान्दैनन्, प्रत्यक्ष इन्द्रिय प्रमाणको आधारमा पुष्टि गर्न नसकिने यी कुरालाई प्रमेय अर्थात् प्रमाणित गरिनु पर्ने कुरा मान्दछन् । ईश्वर र अवतारको बारेमा कुनै प्रत्यक्ष प्रमाण छैन । वेदले नै निर्गुण, निराकार र अजन्मा भनेपछि मैले देखेँ भनेर कसैले प्रत्यक्ष प्रमाण पेस गर्ने कुरा सम्भव नै भएन । वेद बाहेक कुरान, बाइबल, जेन्दअवेस्ता लगायत सबै धार्मिक ग्रन्थहरूले ईश्वरलाई निर्गुण निराकार नै मानेको छ भने बुद्धले त ईश्वर र आत्माको अस्तित्वलाई नै अस्वीकार गरेका छन् । ईश्वर या परम शक्तिलाई भने प्रकृति भनिदिए । परम शक्तिलाई प्रकृति भनिदिएपछि भने तर्क या प्रत्यक्ष प्रमाणको आवश्यकता नरहेकोले भौतिक र वैज्ञानिक आधारमा यही सत्य देखिन्छ । फूलमा रङ्ग र सुवास हुनु कुनै ईश्वरीय कार्य नभई प्रकृतिको कारणले हो भनेर बुद्धले भनेका छन् । परम शक्तिलाई आत्मवादी सनातनले ईश्वर मान्नु र अनात्मवादी बुद्धले प्रकृति मान्नुमा यही अन्तर छ । प्रकृतिको कार्य अनुभूत गर्न सकिन्छ, देख्न, छुन सकिन्छ, भौतिक र वैज्ञानिक आधारमा यही नै सत्य हुन् ।

अनुमान प्रमाण आफैमा आधा सत्य र आधा झुठ छ । अर्थात् अनुमान गरिएको कुरा हुन पनि सक्छ र नहुन पनि सक्छ । तर प्रत्यक्ष प्रमाणको अभावमा अभौतिक कुरालाई जति सुकै अनुमान गरे पनि नतिजा शून्य नै हुन्छ । जस्तो डाइनोसरको अस्थिपञ्जरका आधारमा गरिने अनुमान समेत शतप्रतिशत मिल्दैन भने अस्थिपञ्जर नै नभएको भरण्डी नामक दुई टाउके चराको बारेमा गरिने अनुमानको नतिजा शून्य नै हुने हुँदा अनुमान प्रमाणलाई शून्य प्रमाण नै भनिन्छ । यसैले अनुमान प्रमाणको आधारमा कुनै कुराको पुष्टि गर्न सकिँदैन ।
उपमान प्रमाण भनेको कसैले भनेकै भरमा त्यसलाई पत्याउने कुरा हो । जस्तो, जिराफ र खरायो दुवै नदेखेको व्यक्तिलाई कसैले जिराफ देखाएर खरायो र खरायो देखाएर जिराफ भनिदियो भने देख्नेले त्यसलाई पत्याउँछ, जब कि त्यो सत्य भने होइन । अर्थात् यहाँ आँखाले देखेकै कुरा पनि झुठो हुन गएको छ ।

शब्द प्रमाण मुण्ड, मति र ज्ञानका आधारमा फरक फरक हुन्छन् । रूख कटहर फल पनि हो र तरकारी पनि । यसको उपति, प्रयोग र अवस्था अनुसार एकै पदार्थ भए पनि जब यसका बारेमा कुरा गरिन्छ, तब बिचार फरक फरक आउँछन् । “तपाईँसँग चार वटा लड्डु छ, दुई वटा साथीलाई दिनुभयो, अब भन्नुहोस्, तपाईँसँग कति वटा लड्डु छ ?” भनेर सोध्दा “दुई” उत्तर आउँछ । जवाफ सही हो, तर भौतिक रूपमा लड्डु भने हुँदैन । शब्द प्रमाणमा यसरी नै लड्डु जस्तो आप्त शब्द प्रयोग गरिन्छ । ईश्वरका बारेमा पनि विभिन्न विद्वान, ऋषि महर्षिका आ–आफ्नै तर्कहरू छन्, दर्शनहरू छन्, मुण्डानुसार विचारहरू छन्, ती सबै शब्द प्रमाणका भण्डार मात्र हुन्, त्यसले आप्त ईश्वर या अवतारलाई प्रमाणित भने गर्दैन भने वेदका ऋचाहरू पनि यसै गरी केवल शब्द प्रमाण मात्र हुन् । आत्मा, परालोक, ईश्वर या ईश्वरीय अवतारलाई प्रत्यक्ष, अनुमान, उपमान र शब्द, यी चारै प्रमाणहरू मध्ये कुनै एक वा सबै प्रमाणको आधारमा पनि प्रमाणित गर्न सकिँदैन । अर्थात् कुनै नतिजा ननिस्कने कुरा छ भन्नू शून्यको मान प्रमाणित गर्नु बराबर हो ।

यसरी वैदिक धर्मले विश्वास गरेको परालोक, आत्मा र ईश्वरलाई प्रमाणित गर्न कुनै प्रत्यक्ष प्रमाण नभएको हुँदा चार्वाक यसलाई प्रमेय मान्दछन् जसलाई अन्य तीन प्रकारको प्रमाणहरूले पुष्टि गर्ने कोसिस गरिन्छ । यसैलाई लिएर चार्वाकले केवल एक वाक्यमा आफ्नो कुरा टुङ्गाएका छन्, “भष्मा भूतस्य देहश्य पुनरागमनम् कूतः ।” इहलोकमा मृत्यु भएर गएकाहरूलाई गाडेर माटोमा मिलाएपछि या जलाए खरानी पारेपछि कोही पनि फर्किएर आएका छैनन्, न त मैले स्वर्गमा सुखभोग गरेँ भनेर कसैले भन्न आएका छन्, न त कसैले नर्कमा दुख पाएँ भनेर भन्न आएका छन्, यसैले स्वर्ग नर्क आदि सबै मिथ्या हुन् । शरीर र आत्मालाई दुई पृथक् तत्त्व माने पछि शरीर त प्रत्यक्ष देखिन्छ तर आत्मा भने पुनः प्रमेय तत्त्व हुन जान्छ । जीव मरेपछि शरीर जलाएर नष्ट गरिन्छ र अजर आत्मा परमात्मामा मिल्न गएपछि फेरि प्रेत कहाँ कसबाट बन्दछ ! शरीर नासवान र आत्माको अमरत्त्व मान्नेहरू नै यस कुरामा रनभुल्ल हुन्छन् । वास्तवमा अध्यात्मवाद या वैदिक दर्शन बिस्तारै  ब्राम्हणपक्षीय हुँदै गएको प्रमाण हो यो । अर्थात् अध्यात्मवादलाई कर्मकाण्डले पछाडि राख्यो, ब्राह्मण हुनु कर्म रहेन, जात हुन गयो र ब्राह्मणहरूलाई देवताहरूभन्दा पनि उच्च, माननीय, अवध्य र पूजनीय बनाइँदै लगियो, दर्शनभन्दा पनि दान, कर्मकाण्ड र नामसंकिर्तनलाई बढी जोड दिइयो, भागवत तथा पुराण कथामा रहेका इतिहास तथा दर्शनहरू हराउँदै गए । चार्वाक दर्शनको उद्देश्य त्यस युगको दमनकारी पुरानो बिचार र रुढीवादी बोझ उतारेर फाल्ने तथा धर्मान्धताको बोझ फालेर महान् रचनात्मक चिन्तन या कार्यहरू होस् भन्ने चाहना थियो । भौतिकवादले अनुमानको विश्वसनीयता (अनुमान प्रमाणलाई झुठो मान्दै) ईश्वर र ईश्वरको अमरत्व तथा आत्मालाई भौतिक प्रमाणको आधारमा अस्वीकार गर्दै इन्द्रिय सत्य स्थापना गर्न खोजे । यही असुरमतको सर्वव्यापकता तथा भौतिकवादी तथा बौद्धमार्गिहरूबाट हुन गएको धर्मग्रन्थ तथा दर्शनको कटु आलोचना र परालौकिक ईश्वरसत्ता त्याग गर्न थाले, धर्मग्रन्थका आधारमा स्थापित व्यवस्था अस्वीकृत हुन गयो ।

आदिम समाजमा परिवार थिएन, त्यसैले स्वैरसंभोग (freedom of sex) व्याप्त भएको समाज मातृसत्तात्मक थियो जहाँ बाबुको कुनै महत्त्व या टुङ्गो हुन्थेन । स्त्रीहरूमा सानो भन्दा सानो मिहिन कुरालाई पनि नियालेर र केलाएर हेर्न सक्ने प्राकृतिक खुबीका कारण बोटबाट बीज र बीजबाट फेरि बोट हुने मिहिन प्रक्रियाको अध्ययन गरेर स्त्रीहरूले नै खेती किसानीको (agricultural magic) खोज गरेका थिए । प्रारम्भिक कालमा कृषि कार्यमा संलग्न मानिसहरू पनि अत्यधिक उब्जनीको मूल कारण पुरुषको श्रम, कौशल र रेखदेख नभएर यो केवल “दैवीय नारी संरक्षण” ले मात्र हुने विश्वासका कारण ती नारी शक्तिमा निर्भर थिए । दक्षिण अफ्रिकाको सुम्बा स्त्रीहरू प्रेतात्माको आदर गरिए मात्र उब्जनी हुने विश्वासमा पहिले स्त्रीहरू नै जमिन जोत्ने र नृत्य गर्ने गर्दछन्, त्यसपछि मात्र पुरुषहरू कृषिका बाँकी काम गर्दछन् । मेक्सिकोमा पनि उर्वरताकी देवीको आह्वान गर्दै उनको आदरमा समारोह नगरिएसम्म कृषिको सानोभन्दा सानो काम पनि गर्दैनन् । कतै गर्भवतीलाई फल खान दिए उत्पादन बढ्ने विश्वास गर्नेहरू छन् भने कतै बाँझी आइमाईलाई उद्यान या खेतबाट टाढा राख्ने प्रचलन पनि छ । यसैले खेती तन्त्र (agricultural magic) भन्नुको पछाडि यसमा कुनै दर्शन (philosophy ) या अध्यात्म (metaphysics) नभएर केवल साधारण प्रकृति थियो, जसलाई उनीहरूले जादु ठाने । यही जादुलाई मान्ने समाज नै असुर सभ्यता थियो, राहुल सांस्कृतायन वेद पूर्वको सिन्धु सभ्यता असुर सभ्यताकै समान मान्दछन् । आर्यहरूको आगमनपछि उनीहरूलाई यो जादु मान्य भएन, पशुधन र फिरन्ते जीवन यापन गर्दै आएका विजेता आर्यहरूले यसलाई तुच्छ देख्न थाले । आफूले देखेको परमशक्ति शशरीर इन्द्रलाई नै पछि निराकार शक्तिको रूपमा स्थापित गर्न आत्मवादी दर्शनको उद्भव भयो । त्यो समय एक प्रकारले आत्मवादी र अनात्मवादीहरूको सङ्घर्षकै समय थियो । आर्यहरू विजेता थिए र सिन्धु सभ्यतावासी विजित, यसैले आर्यहरूले वेद निन्दक या नास्तिक भन्न थाले । असुर मताबलम्बीहरूले भने अनुमानद्वारा वैदिक यज्ञको क्षमता, ईश्वर आत्मा र परलोकको सत्यता स्थापित गर्ने प्रयासको विरोध गर्दै नै रहे । चार्वाक भने अनुमान प्रमाणमा पनि ज्ञात जगतको भौतिक क्षेत्रसम्म मात्र सीमित रहेका छन्, इहलौकिक वस्तुहरूभन्दा अगाडि गएर निकालिएको निष्कर्ष अमान्य ठहराउँछन् । चार्वाक भन्छन्, “अनुमान प्रमाणका आधारमा अवलांगले सवलांग, निर्धनले धनवान या दासले स्वतन्त्र भएको अनुमान गर्दैमा न त स्थितिमा परिवर्तन आउँछ न त व्यक्ति पीडा मुक्त नै हुन्छ ।”

वेदपछि उपनिषदले व्याख्या गरेको आत्मवादलाई रामायण महाभारत र पुराणका कथाहरूले जति जति यथोचित प्रमाणित गर्दै लाने कोसिस गरियो त्यति त्यति एकातिर दर्शन भने पछाडि छुट्दै गयो गयो भने अर्कोतिर ऋषिहरूकै मतहरू बाझिन थाले, एकरूपता रहेन । यसको बदलामा ब्राह्मणवाद र कर्मकाण्ड भने पूजनीय हुँदै गयो । यसैले वेद निन्दक देखिने चार्वाक दर्शनले कर्मकाण्डलाई त्याज्य ठान्दै गयो, ब्राह्मणवादको विरोध गर्दै गए । फलतः आस्तिकहरूले आफूहरूभन्दा विपरीत आचार गर्ने भएकोले, मान्य मतभन्दा वाम (उल्टो या विरोधी भएकोले) यिनीहरू लाई वामाचारी भन्न थाले । त्यसो भन्नुको पछाडि असुर सभ्यतामा खेती किसानीबाट उब्जनी हुने कार्यलाई जादु र प्रक्रियालाई तन्त्र मान्नु पनि थियो । वामाचारी सिद्धान्त या तान्त्रिक क्रियाहरूमा स्वच्छन्द सम्भोग पनि पर्दछ । वाम को अर्थ स्त्री या सम्भवतः काम पनि लाग्दछ, किन भने तन्त्रवादमा स्त्री केन्द्रित आचरण र यौन सम्भोग दुवै पर्दछन् । वामाचारलाई अहिलेका सभ्य सामाजिक र नैतिक मूल्यको आधारमा हेर्दा निश्चय नै पतित र घिन लाग्दो कार्य देखिने हुँदा विकृति नै ठहरिन्छ । तर त्यति बेलाको हाम्रो पुर्खाको विश्वास र मान्यताहरू किन त्यस्तो खालको थिए भन्ने कुरा बुझ्न जरुरी छ । स्वैरसम्भोगको प्रचलन भएको त्यो समयमा यौनलाई एक अनुष्ठानको रूपमा हेर्ने हो भने यो कुनै विकृति भने थिएन । अध्यात्मवादिहरुले वेदमा उल्लेखित यौनाचरणलाई पुरुषार्थ मान्ने हो भने वामाचारको सम्भोगलाई विकृति भन्नु हास्यास्पद हुन्छ । उपनिषद कालसम्म भौतिक सम्पत्ति, अझ विशेषतः पशुधन नै थियो । यसका अतिरिक्त राज्यका लागि सेना र सेनाको लागि बलिष्ठ पुरुष पनि भौतिक सम्पत्ति नै थिए । सम्भोगबाट नै व्यक्ति आफू जस्तै व्यक्ति उत्पन्न गर्दछन्, पशुधन उत्पन्न गर्दछन् भने सम्भोगलाई अनुष्ठान ठान्नु विकृति भनेर केवल सामान्य मतिले मात्र मान्न सक्दछ । “जो आफूलाई निराश्रित (सन्तान र पशुधन विहीन) ठान्दछ उसले घ्यु र खिचडी दान गरुन् । यहाँ घ्युले स्त्री रक्त (डिम्ब) लाई र चामलले पुरुष वीर्यलाई सङ्केतमा गरेको छ । पुरुष वीर्य र स्त्री डिम्बबाट नै सन्तानोत्पति हुने यस पुरातन मान्यतालाई पछि अनुष्ठान मानियो ।

बृहद आरण्यक उपनिषदका अनुसार गौतम पुत्र स्वेतकेतु आरुणेय पाञ्चालहरूको सभामा जाँदा जाबालिले उनलाई पाँच प्रश्न सोधे र ती मध्ये कुनै पनि प्रश्नको उत्तर दिन नसकेका स्वेतकेतु फर्किएर गौतमकहाँ पुगे र उत्तर सोधे । गौतम आफैलाई ती प्रश्नहरूको उत्तर थाहा नभएकोले पुनः जाबालिकहाँ पुगे, तब जाबालिले भने, “हे गौतम, वस्तुतः स्त्री यज्ञको अग्नि हो, स्त्रीको योनि इन्धन हो, आमन्त्रण धुवाँ हो, भग अग्नि शिखा हो, पुरुषको प्रवेश कोइला जस्तै हो र काम सुख झिल्को जस्तै हो । देवता यस यज्ञमा वीर्यको आहुति दिन्छन् र यस आहुतिबाट गर्भ बन्दछ ।” उपनिषद कालमा दार्शनिकहरू सम्भोगलाई यसरी नै बझ्दथे र यज्ञलाई पनि यस्तै क्रिया मान्दथे । यसरी उपनिषद कालमै दार्शनिकहरूले सम्भोगलाई वैदिक यज्ञ बराबर मानेर महत्त्व दिएको हुँदा बामाचारीहरूले सम्भोग अनुष्ठानलाई घृणा या महत्त्वहीन मान्नु न्यायसङ्गत भने देखिँदैन । अश्वत्थ (पिपल, पुरुष) र शमी (होम गर्दा जलाइने कोमल वृक्ष, नारी) को घर्षणबाट उत्पन्न भएको अग्निलाई पवित्र मान्ने हुँदा नै पूर्व वैदिक र वैदिक आर्यहरूले सम्भोगलाई पनि यसै धारणाबाट स्वीकारेका थिए । त्यसैले जुनसुकै जातिबाट जन्मिए पनि ती बालकलाई विभेद नराखी समाजमा स्वीकार्य थिए । तर ब्राह्मण ग्रन्थ र उपनिषद कालपछि उत्तर वैदिक कालमा भने जातीय विभेद या रक्त शुद्धताको बारेमा विभेद हुन थाल्यो ।

कापालिक सम्प्रदाय शरीरलाई नै सवथोक ठान्दछन् । धार्मिक क्रियाको अर्थ स्त्री पुरुष बिचको सम्भोग हो र यसको सिद्धि सम्भोगको अवधि अनुसार घट्ने बढ्ने हुन्छ । यस सम्पदायलाई वैष्णव पनि भनिन्छ तर यिनीहरू कृष्ण या विष्णुमा विश्वास राख्दैनन् । बौद्ध धर्ममा महायान मत सुरु भएको चार शताब्दीपछि पञ्चमकारद्वारा साधना गरेर सिद्धि हासिल गर्न खोज्ने बौद्ध मतका एक सम्प्रदाय छ, जसलाई सहजिया पनि भनिन्छ । लोकमत र कापालिक या वैष्णव र सहजिया बीच समानता भए पनि यही नै चार्वाक मत भने होइन । मद्यपान, नरबलि, स्त्री सम्भोग, मृत शरीर, मद्य र स्त्रीको सहायताले धार्मिक ध्येय प्राप्त गर्ने या काम पूर्ति या भौतिक इन्द्रिय सुखको प्राप्ति नै ध्येय हो । यसरी हेर्दा चार्वाक मतले भौतिक इन्द्रिय सुखलाई नै सर्वोच्चता दिएको आधारमा कापालिक या सहजिया सम्प्रदायका आचरण चार्वाक मतसँग मेल खान गएता पनि यी भने चार्वाक मत विपरीतका उच्छृखंल आचरण नै हुन् ।

ग्रीक दार्शनिक  एपिक्युरसले प्रतिपादन गरेको एपिक्युरिजममा पनि चार्वाक मतको प्रष्ट छाप देखिने हुँदा यसलाई नवीन मत मान्नु भुल हुनेछ । एपिक्युरसको आनन्दवादले पनि चार्वाक मतको "यावत् जिवेत्" वाक्यलाई नै अङ्गालेर  पनि सुख भोगलाई प्रधानता दिएको स्पष्ट देख्न सकिन्छ । एपिक्युरसले मानसिक र शारीरिक दुई आनन्द मध्ये मानसिक आनन्दलाई ज्यादा प्रधानता दिइएका थिए । तर पछिका उनका अनयायीहरुले यो बिचारलाई हेय सम्झिन थाले र शारीरिक सुखलाई नै ज्यादा महत्व दिन थाले, जसको स्पष्ट नमुना थियो हिप्पि कल्चर । हिप्पी कल्चर युद्धबाट असन्तुष्ट, आक्रान्त, विक्षिप्त र विमोही युवा जमातले सुरु गरेको प्रचलन थियो जसको समाज र सामाजिक  संस्कारबाट विश्वास उठिसकेको थियो । एपिक्युरिजम (आनन्दवाद) अन्तरगतकै उपयोगितावादलाई अङ्गालेका हिप्पीहरू जीवनमा केवल आनन्दको खोजीमा हुन्थे, आनन्द लिन नै गाँजा चरेस पिउँथे,  त्यसैको नसामा लट्ठ परेर बस्दथे । एपिक्युरिजमको उपयोगितावाद र परिणामवाद दुवै अझै प्रचलनमा छ । जीवनमा वर्तमान अतीत हुने भएकोले वर्तमानमा नै मानसिक शान्ति र शारीरिक आनन्द प्राप्त गरेर वर्तमानलाई यथेष्ट उपभोग गर्नु पर्दछ भन्ने मत यिनिहरूमा रहेको छ । यसका लागि शरीरको उपयोग पनि आनन्दको उपभोगकै एक निमित्त मात्र हो भन्ने विश्वास  राखिन्छ, स्वर्ग मोक्ष, पुनर्जन्म आत्मा आदिलाई नकारेर जीवनलाई केवल एक बारको मानेर आनन्दको खोजी गर्दछन् । एक वारको जीवनमा पाइने सुखलाई त्याग्नु मुर्खता हो, जसरी धानबाट चामल लिएर भुसलाई छाडिन्छ, त्यसरी नै जीवनमा दुखलाई छाडेर सुखलाई लिनु पर्दछ भन्ने मूल मर्म पनि चार्वाक मत नै हो ।

“न स्वर्गो नापवर्गो नैवात्मा पारलौकिकः
नैव वर्ण–आश्रम–आदीनां क्रियाश् फलदायिकाः”

चार्वाक मत वेद कालदेखि नै या सो भन्दा अगाडि नै प्रसिद्ध थियो । स्वर्ग, आत्मा, मोक्ष र परलोक जस्ता कुरा त के वर्णाश्रमका क्रियाहरूमा समेत चार्वाकहरूलाई कुनै विश्वास थिएन । “अग्निहोत्रं त्रयो वेदाः” भनेर वेदको निन्दा गरिएको आधारमा चार्वाक मत वैदिक कालदेखि नै उपस्थित थियो भन्ने ज्ञात हुन्छ । चार्वाकले “त्रयो वेदा” भन्नुले सुरुमा तीन वेदको मात्र भएको अवस्थामा नै चार्वाक मत रहेको पुष्टि हुन्छ । "तीन वेदलाई मान्नु, यज्ञ गर्न र भष्ममा रमाउनु बुद्धिहीन मानिसको काम हो" भनेर वेद विपरीत मत दिँदै आएका चार्वाकले पुराण तथा कर्मकाण्ड समेतलाई निन्दा गरेको पाइन्छ । चार्वाक वेद निन्दक थिए र वेदमा आस्था नराख्ने भएकोले यिनलाई पनि आर्येत्तर र असुर भनियो

“स साधू भिर्वहिष्कार्यो नास्तिको वेदनिन्दकः” ११।८ मनुस्मृति

चार्वाक मतानुसार वेद धूर्तहरूले लेखेका हुन् जसलाई मान्नुको कुनै अर्थ छैन । “द्वेष दंभ्भ च मा च क्रोधं तैक्ष्य यंच वर्जयेतु” (वेद भित्र केही छैन) । वेदका ऋषिहरू सुख छोडेर दुःखलाई अपनाउन भन्दछन्, यी ऋषिहरूको लहैलहैमा लागे जीवन बरबाद हुन्छ, यसैले दुख छोड र सुखलाई अङ्गाल भन्ने मत एपिक्युरसको आनन्दवाद कै मूल हो ।

वेद र वेदलाई मूलाधार बनाएर वर्णन गरिएका आकाश (ईश्वर) आत्मा र परालोकलाई चार्वाकहरू मान्दैनन् । चार्वाक मत अनुसार इन्द्रिय गम्य नभएका हुँदा यी प्रमेय तत्त्वहरू हुन्, जसलाई प्रमाणित गर्नु पर्दछ । वैदिक मतावलम्बीहरूले दिने चार प्रमाणहरू (माथि उल्लेख गसिकिएको छ) लाई चार्वाक केवल शब्दको भुलभुलैया मात्र मान्दछन् । वेद अनुसारको श्रृष्टिको मूल तत्त्वहरू पृथ्वी, तेज, जल वायु र आकाश मध्ये आकाश तत्त्वलाई चार्वाक दर्शन मान्दैन । चार्वाक मत अनुसार पृथ्वी, जल, तेज तथा वायु यी चार तत्त्व नै सृष्टिको मूल कारण हो ।

“तत्र पृथ्वीव्यादीनि भूतानि चत्वारि तत्वानि”

चार्वाक मतले श्रृष्टिको मूल तत्त्वमा वेदले मानेको आकाश तत्त्वलाई जसरी अस्वीकार गरेको छ, त्यसरी नै बौद्ध मतले पनि आकाश नामक तत्त्वलाई अस्वीकार गरिदिएको छ । दुवै मतले आका कुनै तत्त्व नभएर शून्य मात्र हो, स्थूल अवस्था यी चार तत्त्व नै बाह्य जगत या इन्द्रियले देख्छ । आकाशको वास्तवमा प्रत्यक्ष छैन । इन्द्रियले रूप, गन्ध, रस, स्पर्शको प्रत्यक्ष अनुभव गरे जस्तो आकाश तत्त्वको, जुन छँदै छैन, नगर्ने भएकोले आकाश तत्त्वलाई चार्वाक मत अस्वीकार गर्दछ । चार्वाक मत अनुसार यो विश्व चार तत्त्वको भिन्न भिन्न रूप र मात्राको सङ्ग्रह या सङ्गठन मात्र हो ।

“जडभूतविकारेषु चैतन्यं यत्तु दृश्यते
ताम्बूलपूगचूर्णानां योगाद् राग इवोत्थितम्”

जसरी पानको पातमा कत्था र चुनको मिलाउँदा तिनको संयोगले रातो रङ्गको निर्माण हुन्छ त्यसरी नै यी चार तत्त्वको संयोग या सङ्ग्रहले बन्ने कुरा नै चेतना हो, यो कुनै ईश्वरीय देन या शक्त कार्य हैन । यहाँ चार्वाकले आत्मालाई मानेका छैनन्, अपितु मनुष्यको जाग्रत चेतनालाई मानेका छन् ।

न स्वर्गो, न अपवर्गो वा न एव आत्मा पारलौकिकः । न स्वर्ग छ न मोक्ष छ न, न देहबाट अलग अस्तित्व राख्ने आत्मा नै छ, न त परलोक नै छ । चार्वाक आत्मालाई कुनै पृथक् तत्त्व मान्दैनन्, केवल पृथ्वी, जल, तेज र वायु यी चार तत्त्वको विशेष संयोगले शरीर भित्र उत्पन्न हुने चेतना मात्र मान्दछन् । शरीरको नास सँगै चेतनाको पनि नास हुन्छ र यो आत्मा जस्तो अजर या कुनै अर्को शरीरमा गएर वास गर्ने तत्त्व होइन । यसैले आत्मा ईश्वर, परलोक आदि विषय केवल अनुमानिक विषय मात्र हो जसको कुनै वस्तुगत अस्तित्व छैन ।

“जडभूतविकारेषु चैतन्यं यत्तु दृश्यते”

चार्वाक प्रत्यक्ष देखिने शरीर र जगतका अतिरिक्त अन्य कुनै पदार्थलाई स्वीकार गर्दैनन् । धर्म, अर्थ, काम र मोक्ष नामका चार पुरुषार्थहरू मध्ये काम र अर्थलाई नै प्रधानता दिन्छन् । जब कुनै परालोक या स्वर्ग नर्क नै छैन भने धर्म गरेर फल भोग्ने कुनै तर्क नै रहँदैन र मोक्ष त झन् परको कुरा हो । यी सबै पाखण्डीहरूले सोझा साझालाई लोभ देखाएर ठग्ने धूर्त तरिका मात्र हो । यज्ञादी गर्ने, भोकै शरीरलाई कष्ट दिएर व्रत बस्ने, पशु वली दिने आदी कार्यहरू शरीरलाई कष्ट दिएर इन्द्रियलाई भ्रामक आनन्द दिने कार्यहरू मात्र हुन् । “यदि यज्ञमा पशु बली दिँदा स्वर्ग पुगिन्छ भने के आफ्नो अग्रजहरूलाई नै मारेर स्वर्ग पुर्याउन सकिन्न र ?” भन्ने प्रतिप्रश्नले चार्वाक यज्ञ र पशु वलीको विरोध गर्दै यसलाई केवल इन्द्रियलाई भ्रमात्मक आनन्द दिने र धूर्त पण्डितलाई पोस्ने कार्य मात्र मान्दछन्, धर्म मान्दैनन् बरु शरीर र इन्द्रियलाई आनन्दित गर्ने कार्यमा बाधक हुने तत्त्वहरूलाई हटाउनु नै धर्म मान्दछन् । कर्मकाण्डका कार्यको विरोध गर्दै चार्वाक ले श्राद्धलाई पनि मूर्खतापूर्ण कार्य मानेका छन् । “लोकमा श्राद्ध गरेर कौवालाई खुवाउँदा परालोकका पितृहरूले खान पाउने भए विदेशमा भएकाले किन खान पाउँदैनन् ?” भन्ने तर्कले श्राद्धाधी कार्यहरूको पनि कुनै फल नभएको तर्क गर्दछन् ।

भूतान निधनं निष्ठा स्रोतसावि सागरः । मृत्यु नै देहको अन्त्य हो ।

तथापि, “यावज्जीवेत सुखं जीवेद ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः” मन्त्रलाई भने अलिक बिचार गर्नै पर्ने देखिन्छ । चार्वाहक भन्छन्, "यो सारा संसास शून्य छ, श्रृष्टि शून्यबाट हुन्छ र शून्यमै बिलाउँछ (देवकोटाले म शून्यमा शून्य सरी बिलाएँ भनेर यही भनेका हुन्), हरेक कुराको मूल्य वास्तवमा शून्य छ, जसरी मृत देहको मूल्य शून्य हुन्छ ।" “भष्मा भूतस्य देहश्य पुनरागमनम् कूतः” शरीर जलेर खरानी भएपछि कोही फर्केका छैनन्, यसैले स्वर्ग नर्क आदि सबै मिथ्या हुन् । जसरी दूधबाट अन्तिममा घ्यु निस्कन्छ र घ्युबाट फेरि केही निकाल्न सकिँदैन, अर्थात् दूध को सार नै घ्यु हो, त्यसरी नै जीवनको अन्तिम सार भनेको आनन्द नै हो । जब मरेपछि मृत शरीरलाई  नास गर्नको लागि लगेर जलाइन्छ या गाडिन्छ, त्यसपछि शरीर (चेतना) फर्केर आउँदैन । यसैले यो शरीरमा चेतना हुन्जेलसम्म सुखको भेग गर्नु नै श्रेयष्कर हुन्छ । संसारमा जन्मेको सार भनेको संसारमा देख्न, भोग्न, सुन्न, हेर्न, पढ्न आदि अनेक सारका कुराहरू छन्, यी कुराहरू ऋण गरेरै भए पनि मर्नु अगाडि भोग गर्नु नै जीवनको सार हो, जीवन रहुन्जेलसम्म ऋण गरेर पनि घ्यु पिऊको अर्थ “ऋण गरेरै भए पनि यिनै कुराहरूको उपभोग र जीवनको बोध गरेर मर” भन्ने हो । यसैले सञ्चय नगर ऋण गरेर भए पनि बोध गर, यी सबै कुराहरू ऋण गरेर भए पनि ज्युँदै हुँदा गर र आनन्द लेऊ भन्ने लाग्दछ । तर पाप र पुण्यको हकमा भने “परोपकार पुण्यायः पापाय परपीडनम्”  लाई बिर्सनु हुँदैन ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै