• २०८१ जेठ ६ आइतबार

फौजी कीरा नियन्त्रण गर्न पाल्पाका कृषकलाई विषादी

kharibot

फाइल तस्वीर

रामपुर । पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिककी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ ।

बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा फौजी कीराको प्रकोप देखिएपछि गाउँपालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । यस क्षेत्रमा मकै बालीमा फौजी कीराका साथै गबारो र सेमीलोपरको प्रकोप पनि देखिएको छ ।

इमामेक्टिन बेन्जोयट ६०० थान, साइप्रमेथ्रिन क्लोरोपाइरिफस ४०० थान, इमामेक्टिन बेन्जोयट पाँच ग्रामको ६०० थान र  साइप्रमेथ्रिन क्लोरोपाइरिफस १०० एमएलको ४०० थान कृषकलाई वितरण गरिएको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिए ।

आवश्यकतानुसार क्षतिको विवरण हेरी पुनः वितरण गरिने कृषि शाखाले जनाएको छ । प्राविधिकलाई मकै लगाइएको खेतबारी निरीक्षण गराई आवश्यकतानुसार निःशुल्क विषादी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउछन् ।

गाउँपालिका वडा नं. १,२,४,७ मा कीराको प्रकोप बढी देखिएको छ । गाउँपालिकाभित्र करीब दुई हजार रोपनीभन्दा बढी क्षेत्रमा कीराले सताएको छ । बगनासकाली– २ पोखराथोकका कृषक लेखनाथ गैरे पन्ध्र रोपनी क्षेत्रफलमा लगाइएको मकै बालीमा फौजी कीरा लागेपछि उत्पादन नै घट्ने चिन्तामा छन् । उनले वर्षेनी बीउ उत्पादनका लागि मकै लगाउँदै आएका छन् ।

यस्तै रामपुर नगरपालिकाका वडा नं २, ५, ६, ७ र १० मा पनि फौजी कीराले मकै बालीमा नोक्सान गरेको छ । कृषकसँग नियमित सम्पर्कमा रहेको र विषादी प्रयोगका लागि एग्रोभेटसँग समन्वय गरेर विषादी उपलब्ध गराउने कार्य भइरहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले जानकारी दिए ।

नगरको वडा नं १० हेक्लाङ क्षेत्रमा कीराको बढी प्रकोप भेटिएको छ । यहाँ करीब एक हजार रोपनी क्षेत्रफलमा फौजी कीराले सताउन थालेपछि कृषक चिन्तित बनेको स्थानीयवासी दामोदर तिमिल्सिनाले बताए ।

आँख्ला लागेका मकैमा कीराले सताउन थालेको बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारी बताउछन् । बन्दाबन्दीले समयमा नै विषादी प्रयोग गर्न नपाउँदा मकैको उत्पादन घट्ने कृषकले बताएका छन् । यसअघि पनि यहाँ लगाइएको धान बालीमा फौजी कीराले सताएर नोक्सान पारेको थियो ।

जिल्लाका रामपुर, बगनासकाली, मदनपोखराको दमकडा, रैनादेवी छहरा, पूर्वखोला लगायत स्थानमा फौजी कीराको प्रकोप देखिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।

महामारीका रुपमा प्रकोप देखिएका ठाउँमा ज्ञानकेन्द्रका कर्मचारी, प्राविधिकसहितको टोली परिचालन गरी स्थलगत आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गरेर कीराको नियन्त्रणबारे कृषकलाई जानकारी दिइएको प्रमुख अर्यालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै