• २०८१ बैशाख १९ बुधबार

प्रदेश ५ मा सडक सुरक्षा सुझाव समिति गठन

kharibot

रुपन्देही । प्रदेश नं ५ सरकारले सडक सुरक्षा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले जानकारी दिए । 

समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव सदस्य सचिव र प्रदेश नं ५ का प्रहरी प्रमुख सदस्य रहने गरी सो समिति गठन गरिएको हो । 

समितिले दुर्घटना न्यूनीकरणका लागि सडकको सुरक्षाको विषयमा अध्ययन, अनुसन्धान गरी सरकारलाई सुझाव पेश गर्नेछ । सडकको मापदण्ड, ट्राफिक नियमको पालना, सडक सुरक्षा लगायतका विषयमा सुझाव पेश गर्न समितिलाई दुई महीनाको समय दिइएको मन्त्री गिरीले जानकारी दिए । 

सडक दुर्घटनामा परेर दाङका प्रदेश सांसद उत्तरकुमार वलीको गए राति मृत्यु भएसँगै मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्ले प्रदेशसभा सदस्य ओलीप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

यस्तै मन्त्रिपरिषद्को बैठकले दुई वटा पालिकाको केन्द्र परिर्वतनका लागि आएको प्रस्तावलाई सङ्घीय सरकारमा पेश गर्ने निर्णय गरेको छ । दाङको शान्ति नगर गाउँपालिकाको चिराघाटमा रहेको केन्द्र परिर्वतन गरी वडा नं ४ जुम्लेकुलामा सार्ने गरी प्रस्ताव आएको थियो । यसैगरी बाँकेको जानकी गाउँपालिकाको खजुराखुर्दमा रहेको केन्द्रलाई वडा नम्बर ३ स्थित बाबाकुटीमा सार्ने प्रस्ताव आएको थियो । दुइवटै प्रस्तावलाई सङ्घीय सरकारमा पठाउ स्वीकृति प्रदान गर्न निर्णय गरिएको मन्त्री गिरीले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै