• २०८१ जेठ ६ आइतबार

बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार

kharibot

ढाका । बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । 

आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गरेका हुन् । 

बर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी नै विजयी भएको नतिजा सार्वजनिक भएपछि सोमबार विपक्षी दलका नेताहरुले परिणाम अस्विकार गर्दै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

आइतबार भएको निर्वाचनमा व्यापक अनियमितता, धाँधली र एकपक्षीय नियन्त्रण भएको विपक्षीको आरोप छ । चुनावी हिंसाका क्रममा १७ जनाको मृत्यु भएको थियो । 

सरकारले विपक्षी दल र यसका कार्यकर्तामाथि चरम दमन गरेको तथा चुनावमा त्रासका वातावरण निर्माण गरेको भन्दै विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले निर्वाचनको नतिजा खारेज गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेको छ । 

तर प्रमुख निर्वाचन आयुक्त हुडाले भने निर्वाचन निष्पक्ष, धाँधलीरहित, स्वच्छ र स्वतन्त्र रुपमा सम्पन्न भएको दावी गरेका छन् । आयोगका प्रवक्ता एस.एम.असादुज्जमानले आयोगमा केही ठाउँका बारेमा उजूरी प्राप्त भएको र त्यसबारे आयोगले छानबिन गरिरहेको जानकारी दिए । 

उनले निर्वाचनमा कुल मतदाता मध्ये ८० प्रतिशत मतदाता सहभागी भएको जानकारी पनि दिए । 

“हामीले फेरी अर्को निर्वाचन गराउन गइरहेका छैनौ, फेरी अर्को निर्वाचन तत्काल गराउनु पर्ने कुनै कारण छैन,” उहाँले पत्रकारहरुसँग भने । 

प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टी र यसको गठबन्धनले ३०० सदस्यीय संसद्मा २८८ स्थान जितेको छ । मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ६ स्थानमा मात्र विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

यो विजयसँगै सत्तारुढ अवामी लिगको अध्यक्षसमेत रहेकी हसिना चौथो पटक प्रधानमन्त्री बन्नेछिन् । प्रधानमन्त्री हसिनाले चुनावको नतिजा सन्तोषजनक रहेको प्रतिक्रिया दिएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै