• २०८१ बैशाख १७ सोमबार

महिलाको चुल्ठो समाउने प्रहरीलाई कार्बाही गर्न निर्देशन

kharibot

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि सशत्र प्रहरीद्वारा भएको दुव्र्यवहारमा संलग्न सशस्त्र प्रहरीहरूलाई कडा कार्बाही गर्ने निर्देशन सम्बद्ध अधिकारीहरूलाई दिएका छन् ।

सशस्त्र प्रहरीका उच्चाधिकारीहरूलाई टेलिफोनमार्फत घटनाप्रति ध्यानाकृष्ट गराउँदै यादवले अत्यन्त अराजक र अनुशासनहीन ढंगले महिलाहरूसँग दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कार्बाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही सर्वसाधारण महिलाहरूलाई चुल्ठो समाएर लछारपछार गर्नका साथै निर्मम तरिकाले कुटपिट गरेका थिए ।

मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । सामान्य अवस्थामा अत्यधिक बल प्रयोग गर्ने सुरक्षा निकायको प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताउँदै कुनै पनि घटनाको अनुसन्धानमा मानवअधिकारलगायत व्यक्तिको मौलिक अधिकार हनन नहुने विषयमा सुरक्षाकर्मीहरूलाई गम्भीर बन्नुपर्ने मन्त्री यादवले बताए ।

उनले कुनै पनि घटनामा व्यक्तिलाई  नियन्त्रणमा लिइँदा विधि र प्रक्रिया पूरा गर्नुपर्ने निर्देशनसमेत सशस्त्र अधिकारीहरूलाई दिए ।

यसअघि सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेशकुमार श्रेष्ठले वीरगञ्जमा महिलामाथि हातपात हुुनु दुर्भाग्यपूर्ण भएको बताउँदै दोषीमाथि प्रहरी नियमावलीअनुसार कार्बाही प्रक्रिया थालिएको बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै