काठमाडौँ । भारत र बंगलादेशबीच जारी राजनीतिक विवादको प्रभाव क्रिकेटमा प्रत्यक्ष रुपमा देखिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बंगलादेशका खेलाडीलाई इण्डियन प्रिमियर लिग (आइपिएल) मा खेल्न प्रतिबन्ध लगाएपछि नयाँ विवाद शुरु भएको हो । बोर्डको निर्देशन अनुसार शनिवार कोलकोताले मुस्ताफिजुरलाई आफ्नो टिमबाट रिलिज गरिएको जानकारी दिएको थियो ।
कोलकोता नाइट राइडर्सबाट आइपिएलमा खेल्ने बंगलादेशका मुस्ताफिजुर रहमानलाई रिलिज गरिएपछि बंगलादेश क्रिकेट बोर्डले कडा कदम चाल्ने संकेत दिएको छ । अब यी घटनाको प्रभाव आगामी विश्वकप र बंगलादेश र भारतबीच आगामी सेप्टेम्बरमा भारतमा हुने सिरिजलगायतमा देखिन सक्ने विश्लेषण गरिएको छ । बंगलादेशले विश्वकपका भारतमा हुने खेल श्रीलंकामा सार्न अनुरोध गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । विश्वकपमा बंगलादेश समूह ‘सी’ मा नेपालसहित वेस्ट इन्डिज, इटाली र इंग्ल्यान्डसँग रहेको छ । त्यस्तै बंगलादेशका खेलाडीलाई प्रतिबन्ध लगाएपछि बंगलादेशमा आइपिएलको प्रशारण प्रतिबन्ध लगाउन माग गरिएको छ । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले देशको सञ्चार मन्त्रालयलाई आइपिएलमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
यस बाहेक उनले भारतमा बंगलादेशका खेलाडी असुरक्षित हुने भन्दै आफ्ना विश्वकपका खेल श्रीलंका सार्न आइसीसीलाई अनुरोध गर्ने बताएका छन् ।
उनले भनेका छन्- 'खेलकुद मन्त्रालयको सल्लाहकारको हैसियतमा, मैले भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई सम्पूर्ण विषय लिखित रूपमा पेश गर्न र आईसीसीलाई स्पष्ट पार्न निर्देशन दिएको छु । बोर्डले यो स्पष्ट पार्नु पर्छ, यदि कुनै बंगलादेशी क्रिकेटर सम्झौतामा हुँदाहुँदै पनि भारतमा खेल्न सक्दैन भने, बंगलादेशको राष्ट्रिय टोलीले विश्वकप खेल्न भारत यात्रा गर्न सुरक्षित मान्न सक्दैन । मैले बोर्डलाई औपचारिक रूपमा बंगलादेशको विश्वकप खेलहरू श्रीलंकामा आयोजना गर्न अनुरोध गर्न पनि निर्देशन दिएको छु ।'
बंगलादेशमा पछिल्ला घटनाक्रममा हिन्दु नागरिकको लगातार हत्या भएपछि भारतमा यसको चर्को विरोध भइरहेको छ । सोहि घटनाका कारण भारत र बंगलादेश दुवैले एक अर्काका कुटनीतिज्ञलाई पटक पटक समन गरेका छन् ।









