काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाले भने अनुसार काम नगरेमा उनको अवस्था पनि मादुरोको जस्तै हुने चेतावनी दिएका छन् ।
एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् । ट्रम्पले भेनेजुएलामा स्थिरता ल्याउने र देशबाट तेल बिना कुनै अवरोध बाहिर निस्कन्छ भन्ने कुरा सुनिश्चित गर्नु आफुहरुको प्रमुख उद्धेश्य भएको बताए ।
भेनेजुएला 'मृत' अवस्थामा रहेको भन्दै ट्रम्पले तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधारमा ठूलो लगानी गर्नुपर्नेमा जोड दिएका छन् । यद्यपि, ट्रम्पले अमेरिकाले कुनै पनि लगानी नगर्ने र भेनेजुएलाका जनता सहित अन्य मानिसहरूको हेरचाह गर्ने बताएका छन् ।
शनिबार अमेरिकाले गरेको अप्रेशन पछि तत्कालिन राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर न्यूयोर्क पुर्याइएको छ । अमेरिकाले उनीविरुद्ध अब लागूऔषध तस्कर र अमेरिकीहरुको ज्यान लिएको आरोपमा मुद्धा अगाडी बढाउने भएको छ ।









