काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द विवादपछि उम्मेदवारले नाम फिर्ता लिनेक्रम जारी रहेको छ ।
पछिल्लो पटक समानुपातिक सूचीमा रहेका डा. अरनिको पाँडेले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पाँडेले भनेका छन्- म सँधै देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रिय समिति बैठकमा साथीहरुलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएं । मलाई बन्दसूचीमा पुर्याउने सबै साथीहरुलाई फेरि एकपटक धन्यवाद दिंदै रास्वपालाई आउँदो चुनावमा जिताउने तिर ध्यान दिनेछु ।
रास्वपाको समानुपातिक सूचीमा सेलिब्रेटीलाई स्थान दिएको र संबिधानले व्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वको मर्म विपरितका उम्मेदवार सिफारिस गरेको भन्दै चौतर्फी आलोचना भएपछि उम्मेदवारहरुले नाम फिर्ता लिइरहेका छन् ।
यसअघि टासी शेर्पा, गायिका त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।









