• २०८२ बैशाख ५ शुक्रबार

शिव शक्ति स्वरुप हुन् पति पत्नि

kharibot

संसारमा श्रृष्टिको लागि महिला र पुरुषको आवश्यकता पर्छ । पुरुष शिव हो भने महिला शक्ति, पुरुष प्रकृति हो भने महिला धरती । जमिनमा वीज राखे पनि त्यसलाई उम्रन हावा ताप र मौसमको आवश्यकता पर्दछ । यहि शक्तिले मात्र पृथ्वीले वीजलाई उमार्न सक्दछे । यसरी वीज उमार्न शक्ने  धरती शक्ति हो भने वायु ताप र मौसम शिव हो । शिव बिना शक्ति र शक्ति बिना शिव पूर्ण हुँदैन । 

मानव चेतनशील भएदेखि नै उनीहरूले पशु, पंक्षी या मानव नै किन नहुन्, केवल पोथीले मात्र श्रृष्टि गरेको देख्दै आएको थिए । यसैले प्रारम्भिक अवस्था देखि नै श्रृष्टिको मूल केवल नारी नै हुन् भन्ने उनीहरूको विश्वास भौतिक रूपमा गलत देखिँदैन । मानव श्रृष्टिको बारेमा कुरा गर्ने हो भने वास्तवमै यस श्रृष्टि कार्यमा पुरुष निमित्त नायक मात्रै हो, यौनतुष्टि र वीर्य स्खलनपछि पुरुष सुस्त हुन्छ, निष्कृय हुन्छ र उसको कार्य सकिन्छ । कतिपय जीवमा त (जस्तो माहुरीमा भालेको मृत्यु हुन्छ भने माकुराको एक प्रजाति ब्ल्याक विडोमा पोथीले समागमरत् भालेको टाउको नै खाइदिन्छे) समागम पश्चात् भालेको मृत्यु नै हुन्छ । तर स्त्रि भने पुरुषको वीर्य धारणपछि मात्र सक्रिय हुन थाल्दछे । विज्ञान भन्छ, “पुरुषको वीर्यमा रहेको शुक्रकीट जब स्त्रिको डिम्बमा प्रवेश गर्दछ तब त्यो शुक्रकीटमा निहित २३ क्रोमोजोम र डिम्बमा निहित २३ क्रोमोजोमको मिलापपछि मात्र जीवको विकाश हुन सुरु हुन्छ र त्यो विकाशदेखि प्रजनन र पश्चात् लालन पालनसम्मको सम्पूर्ण भार केवल स्त्रिले खेप्दछे ।” पुरुष आफ्नो वीर्यमा रहेका लाखौँ शुक्रकीट र त्यसको उपादेयताको वास्ता गर्दैन, तर स्त्रि गर्दछे । आफूसँग सम्भोगरत एक वेश्या पुरुषले निष्कासित गरेर खेर जाने शुक्रकीटप्रति क्षोभ प्रकट गर्दछे, त्यसलाई आफ्नो डिम्बमा स्थान दिन नपाएकोमा खेद मान्दछे । शुक्रहीन पतिका कारण बाँझी  भएकी स्त्रिलाई त्यही शुक्रकीट कति महत्त्वपूर्ण लाग्दछ, त्यो केवल स्त्रिले मात्रै बुझ्दछे । पुरुषले जति नै बुझे पनि त्यो केवल सतही मात्र हुन्छ तर स्त्रिले भने प्रकृतिवत यसलाई मूलबाटै बुझेकी हुन्छे । यसो हुनुमा पुरुष दोषी हैन, यो केवल प्रकृति मात्र हो र हरेक जीव प्रकृतिको वसमा छ ।   

प्रारम्भिक कालमा कृषि कार्यमा संलग्न मानिसहरू पनि अत्यधिक उब्जनीको मूल कारण पुरुषको श्रम, कौशल र रेखदेख नभएर यो केवल “दैवीय नारी संरक्षण”ले मात्र हुने विश्वासका कारण ती नारी शक्तिमा निर्भर थिए । दक्षिण अफ्रिकाको सुम्बा स्त्रिहरू प्रेतात्माको आदर गरिए मात्र उब्जनी हुने विश्वासमा पहिले स्त्रिहरू नै जमिन जोत्ने र नृत्य गर्ने गर्दछन्, त्यसपछि मात्र पुरुषहरू कृषिका बाँकी काम गर्दछन् । मेक्सिकोमा पनि उर्वरताकी देवीको आह्वान गर्दै उनको आदरमा समारोह नगरिएसम्म कृषिको सानोभन्दा सानो काम पनि गर्दैनन् । जसरी पृथ्वीमा प्रकृतिवत थुप्रै कुराहरू उम्रिएका छन्, त्यसै गरी जनावर, पन्छी र सबै जीवका पोथीले प्रकृतिवत जन्माउने गुण जन्मसँगै लिएर आएका छन् । यसरी हेर्दा मानव या जीव प्रजनन र प्राकृतिक उत्पादन एकै प्रकारको कृया देखिएको हुँदा नै कतै गर्भवतीलाई फल खान दिए उत्पादन बढ्ने विश्वास गर्नेहरू छन् भने कतै बाँझी आइमाईलाई उद्यान या खेतबाट टाढा राख्ने प्रचलन पनि छ । उत्पादकताको आधारमा पृथ्वी र स्त्रि दुवैले समान गुण बहन गर्दछन्, पृथ्वी र स्त्रि दुवैले कसरी जन्माउने भन्ने कुरा जान्दछन् । यसैले विश्वका हरेक कुनामा यस्ता संस्कार अद्यापि पाइन्छ । यस्तो संस्कारलाई केवल मूर्खता या अज्ञानता भनेर हेरियो भने गल्ती हुन जान्छ । यी त्यस्ता संस्कार या प्रचलन हुन् जसबाट मानिसले व्यक्तिगत मनोरथको काल्पनिक श्रृष्टि गर्दछ र त्यसैबाट उत्साह, प्रेरणा र मूलतः विश्वासका साथ लगनको भावना उत्पन्न हुन्छ । यो भावना नै एक प्रकारको मनोवैज्ञानिक दिशानिर्देश हुने गर्दछ र यसले सम्बद्ध क्रियाहरूमा विचित्रको तीव्रता पनि ल्याउँदछ ।

तन्त्रवादमा पञ्च मकारको (मीन, मास, मद्य, मुद्रा (भुटेको अन्न) र मैथुन) प्रयोग गरेर साधना गर्ने गरिन्छ । यसरी साधना गर्दा यन्त्र या कुण्डली कोर्ने गरिन्छ । यसरी कोरिएको यन्त्रको बिचको त्रिकोण भग या योनिको प्रतीक हो । कुण्डलिनी योगमा शरीरमा देखाइएका शत चक्र भेदका ती सबै पध्महरू स्त्रि अवस्था हुन् । तन्त्रवादमा पध्म या कमललाई योनि या भगको प्रतीक मान्ने गरिएको छ । बौद्ध तन्त्रवादमा जसरी पुरुषको लिङ्गलाई श्लील शब्दमा या रहस्यमय रूपले नामाकरण गर्दा वज्र या मणि भन्ने गरिन्छ, त्यसै गरी योनिलाई श्लील शब्दमा या रहस्यमय रूपले नाममकरण गर्दा पध्म भन्ने गरिन्छ । बौद्धहरूले पढ्ने ओम मणि पद्ये हुम् मन्त्रमा यी दुवै प्रकृति अन्तर्निहित छन् । श्रीचक्र या श्रीयन्त्रकमा कोरिएका नौ वटा पध्म, त्रिकोण र रेखाचित्रहरू मध्ये पध्म र त्रिकोण योनिको प्रतीक हो, यी सबै रेखा चित्र मिलेर श्रीचक्र बन्दछ । तन्त्र साधनाको सार भनेको अन्तरमनमा विराजित स्त्रिलाई जागृत र सचेत गरेर चेतनाको उच्चतम स्तरमा पुर्याउनु हो । अर्थात्, मूल व्यक्तित्व र चेतनालाई एक स्त्रि व्यक्तित्व र चेतनामा परिवर्तन गर्ने प्रशिक्षण नै तन्त्रवादको योग साधना अर्थात् मनोदैहिक क्रियाहरू हो । कुण्डलिनी योग अनुसार यसको सर्वोच्च अवस्था भनेको शक्ति सहस्त्रदल पध्मसम्म पुग्नु हो, जहाँ शक्ति पुरुषत्वसँग एकाकार हुन्छ र एकआपसमा विलीन हुन्छ, त्यहाँ दुवैको कुनै अलग अस्तित्व रहँदैन किन भने सबै कुरा अन्तरालमा जाग्रत नारीत्वमा विलीन हुन जान्छ । अर्थात् त्यो एक दिव्य अवस्थाको शिवशक्ति स्वरूप हुन जान्छ । यही मिलापको प्रतीक शिवलिङ्ग हो ।

हिन्दु पुराणहरूमा नारी स्वरूप विष्णुले पनि लिएका छन् र शिवले पनि लिएका छन् । ब्रह्माले बनाएका सबै जीव एक निश्चित् समयपछि मर्ने र फेरि ब्रह्मालाई जीव बनाउनु पर्ने हुँदा शिवले प्रजननशील प्राणी बनाउनको लागि अर्धनारीश्वरको रूप लिएको मानिन्छ । शिव र उमाको समिश्रण अर्थात् पुरुष र स्त्रिको समागम र प्रजनन । प्रजनन कार्यमा पुरुष वीर्य सङ्कल्प गर्छ स्त्रि त्यसलाई सिद्धि दिन्छे । पुरुष सुषुप्त हो भने स्त्रि जाग्रत, पुरुष मस्तिष्क हो भने स्त्रि हृदय, पुरुष कारण मात्र हो स्त्रि कारक, पुरुष संहार हो, स्त्रि सृष्टि । 

अर्जुनले उर्वसीको श्राप नपाएको भए, बृहन्नला बन्न नपाएको भए कला मात्र सिक्थे । कला सिक्नु र त्यसलाई हृदयङ्गम गर्नु पृथक् कुरा हो । पुरुष जति नाँच्न जाने पनि नारीमा प्रकृतिवत् निहित थुप्रै गुणहरू पुरुष अनुकरण गर्न सक्छ तर निहित गर्न सक्दैन, अनुकरणित कुराहरू प्राकृतिक अवश्य देखिँदैन । काव्यको लागि संवेदना अत्यावश्यक छ र संवेदनाको लागि हृदय, जहाँ करुणा, दया, प्रेम, वात्सल्य, अनुराग र सृष्टि हुन्छ । यसैले काव्यको लागि स्त्रि हृदय हुनु आवश्यक छ, कला बुझ्नको लागी या कला श्रृष्टिको लागि पनि एक नारी हृदय आवश्यक छ । यसको लागि पुरुष अस्तित्वलाई छोड्नै पर्दछ, बृहन्नला बन्नै पर्दछ । बृहन्नलाको अर्थ श्रेष्ठ पुरुष हो । पाशुपत अस्त्र, दिव्यास्त्र र ब्रम्हास्त्र समेत पाइ सकेका अर्जुन कला विहीन भएका भए श्रेष्ठ पुरुष हुन सक्दैनथे, न त विश्व विनाश बचाउनको लागि आफूले प्रयोग गरिसकेको ब्रम्हास्त्र फिर्ता लिन सक्थे । ब्रम्हास्त्र फिर्ता लिनु विश्व बचाउनुको प्रतीक थियो र विश्व बचाउनु भनेको एक प्रकारले सृष्टि गर्नु नै हो, जुन केवल स्त्रिले मात्र गर्न सक्दछे । सारा विश्व ध्वस्त गर्न सक्ने क्षमता भएका अर्जुनलाई उर्वसीले दिएको श्राप वास्तवमा अर्जुनसँग भएका अस्त्रहरू माथि लगाइएको एक अङ्कुश थियो, जुन अङ्कुशको अर्थ अर्जुनले केवल स्त्रि भएपछि मात्र बुझ्न सक्दथे र बुझे पनि । यसैले उर्वसीको त्यो श्राप श्राप थिएन, अर्जुनलाई बृहन्नला बनाएर श्रृष्टि बोध गराउने वरदान थियो ।

प्रेम र कामको पूर्ण अनुभूतिको लागि भित्रको पुरुष परित्याग अनिवार्य छ, पुरुष र प्रकृतिको एकाकार नै आत्मिक प्रेमको वीज हो, आत्मिक प्रेमको सर्वोच्चतालाई केन्द्रको स्त्रि (प्रकृति) जागृत हुन आवश्यक छ, जागृत स्त्रिमा मिलाप या शक्ति स्वरूपको साश्वत एकाकार मोक्ष हो, मोक्षको लागि पुरुष बृहन्नला नभएसम्म, हुने प्रयाश नगरेसम्म सदैव अपुरै रहन्छ ।

जसले शिव भगवानलाई मान्दै आएका छन् तिनले शिवलाई मान्नु भनेको पृथ्वीको आदि देवलाई मान्नु हो । शिव सँधै शक्तिसँग जोडिएका हुन्छन् । मान्छे आफैमा शक्ति भएकोले शिवलाई बुझ्न जरुरी छ र शिव भनेको आफ्नै शरीर पनि हो । पृथ्वीमा भएको हरेक तत्त्व शरीरमा हुन्छ । शरीर पाँच तत्त्वले बनेको छ, पृथ्वी, तेज, जल, आकाश र वायु । हाम्रो खुट्टा पृथ्वी हो, हाम्रो शरीरमा भएको ताप तेज हो, शरीरमा भएको पानी जल, फेर्ने सास वायु र हाम्रो मस्तिष्क आकाश हो । यी मध्ये वायु जीवन सुरुवात गर्ने र अन्त्यसम्म आवश्यक तत्त्व वायु नै हो । जब बच्चा जन्मन्छ तब उसले पहिलो पटक सास भित्र लिन्छ र मर्ने बेलामा लिएको सास बाहिर आउँदैन । मानिसको शरीरमा पाँच प्रकारको वायु हुन्छ । पहिलो अपान वायु पेटको तल्लो ठाउँमा हुन्छ, यो खाएको खानेकुरा पचेपछि उत्पन्न हुन्छ र यस वायुले पचेको खानेकुरा बाहिर धकेल्न बल दिन्छ । दाेश्रो वायु समान वायु हो । पेटमा अग्नि हुन्छ र त्यो जलाउन अक्सिजनको आवश्यकता पर्छ । यस वायुले पेटको अग्निलाई जल्न पद्दत गर्छ र खाएको खानेकुरा पचाउँछ । तेश्रो प्राण वायु हो, यो छातीमा हुन्छ र फोक्सो मुटुलाई चलाउन मद्दत गर्छ । चौथो वायु (हावा) उदान वायु हो यो शरीरबाट निस्कने वायु हो । पाँचौ वायु भनेको व्यान वायु हो । नाकले खिचेर छानेको अक्सिजन दिमागमा पुग्ने वायु । यो वायु नै शरीरमा हुने शिव तत्त्व हो । 

वायुको कुरा किन गरेको भने मानिस शान्त हुँदा सरल रुपमा सास लिइ रहेको हुन्छ । खुसीमा लिएको सासको अधिकतम अक्सिजन शरीरले सोस्छ । तर रिसाउँदा वा अन्य अवस्थामा भने मानिसले छिटोछिटो सास फेर्ने भएकोले शरीरले चाहिएको अक्सिजन लिन सक्दैन र मस्तिष्कले पनि चाहिएको अक्सिजन नपाउने हुनाले मानिसले विवेकको प्रयोग गर्न सक्दैन । मानिसले जन्मदै निश्चित सास लिएर आएको हुन्छ । यसैले शरीर स्वस्थ राख्न सरल रुपमा शान्त बनेर सास फेर्न पर्छ ।

मानिसले के बुझ्न जरुरी छ भने आफू के हो, आफ्नो शक्ति के हो र दुवै एक अर्काका कसरी परिपूरक हो । बिबाह पछि स्त्री पुरुषहरु दुवैको मानसिक र शारीरिक मिलाप भईसकेको हुँदा दुवै शिव शक्ति स्वरुपमा गई सक्छ । एक पटक महादेव र पार्वती बिच झगडा भएछ । दुवैले तिमी बिना म बच्चा जन्माउन सक्छु भनेछन्, पछि दुवैले बच्चा जन्माए तर महादेवको छोरा हड्डि मात्रको (कवँचा) जन्मियो भने पार्वतीको छोरी मासु मात्रको (ख्या) जन्मिइ । यसैले भगवान त असमर्थ हुने कुरामा मान्छेको के कुरा र ?

अन्त्यमा, मानिसले आफ्नो ढाड देख्दैन, अरुले देख्छ, आफ्नो गल्ती आफैले देख्दैन, पति पत्नि भनेकै एक अर्काको दोषलाई सच्याउँदै शिवशक्ति बनेर रहनु हो । यही प्राकृतिक धर्म हो र स्त्री पुरुष दुवैले आफूलाई चिनेर भगवानले दिनुभएको जीवन हाँसीखुसी बिताउन सक्छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै