• २०८२ बैशाख ५ शुक्रबार

आवाज र मानिस

kharibot

तपाईले साकिराले एक गीतमा जिब्रो चलाएर निकालेकी आवाज याद गर्नु भएको छ ? आशुतोष राणाले संघर्ष चलचित्रको "लज्जाशंकर" पात्रको अभिनय गर्दा हातले निकालेको आवाज सम्झनु भएको छ रु केटाकेटीमा मुखबाट  आवाज निकाल्दै हातले ओंठ छोपेर "अब्बाब्बाब्बा" गर्नु भएको याद छ रु या सानो बच्चाले आवाज निकाल्दै गर्दा उसको तल्लो ओंठ औंलाले चलाई दिएर "ब्रु ब्रु ब्रु" वाला आवाज त पक्कै निकाल्नु भएको होला ! होइन भने बोलि नफुटेको बच्चा खुसी हुँदा मुखबाट निस्किएको किल्कारी र ससाना बच्चाहरू खेल्दा खुसीले तिखो स्वर निकालेको या डरमा अकस्मात निस्किएको चर्को तिखो आवाज त सुन्नु भएकै होला । यी सबै आवाज त्यसै निस्किएका होइनन्, यी सबै आवाजहरू आदिम मानव सभ्यतासँग गएर जोडिन्छन्, यिनको पनि एउटा सांस्कृतिक इतिहास छ । यो आवाज होइन्, यो वाक या नाद हो । आज यसकै बारेमा थोरै चर्चा गरौँ ।

आवाज या ध्वनी या नाद दुई प्रकारको हुन्छ, आहत र अनाहत । कुनै बस्तुमा अर्को कुनै बस्तु ठोक्किदा निस्कने आवाज या ध्वनी लाई आहत नाद भनिन्छ । मानिस, चरा पशुपन्छि आदिले फोक्सोमा भरिएको हावालाई बाहिर निकाल्दा स्वरतन्त्रिमा त्यो हावा ठोकिन्छ र त्यसबाट ध्वनी निस्कन्छ । कुनै बस्तुमा कुनै अको बस्तु ठेक्काउँदा या सासलाई स्वरतन्त्रिमा ठोक्काउदा शक्ति प्रयोग हुन्छ, जसलाई आहत नाद भनिन्छ । हामी आँखा कान बन्द गरेर एकान्तमा बस्दा पनि हामीले केही सुनिरहेको अनुभव गर्दछौँ, यो आवाज कुनै शक्ति प्रयोग गरेर निस्केको नभएको हुनाले यसलाई भने अनाहत नाद भनिन्छ ।

मनिसको घाँटीले पनि सुरुमा अन्य पशुपन्छि सरह नै आवाज निकाल्थे । मानव मस्तिष्कको विकास हुँदै जाँदा मानिसको घाँटीको स्वर तन्त्रि पनि विकसित हुँदै गयो, फलतः मानिसले आवाजलाई बिभिन्न तरिकाले निकाल्न थाले । बोलि नफुटेको बच्चाले पनि खुसी हुँदा किल्कारी निकाल्छ, यो किल्कारी वास्तवमा नाद हो, वाक हुनको लागि निक्लने ध्वनीमा आरोह अवरोह हुन्छ र यसमा  भाव पनि हुन्छ । आदिम मानवले यही किल्कारीलाई, जुन बिभिन्न सभ्यतामा पहिले पनि प्रयोगमा थिए र आजसम्म पनि प्रयोगमा छन्, हर्ष, युद्ध, समन, र शोक (डर) गरेर चार प्रकारले गुञ्जाउन थाले, जसले चार भिन्न अवस्थालाई जनाउन सक्दथ्यो । आदिम मानवको लागि सिकारमा सफलता पाउनु जस्तो ठुलो कुरा केही थिएन, वास्तवमा सिकार ठुलो संघर्ष र युद्ध जस्तै हुने गर्दथ्यो । यसरी सिकार प्राप्ति पछिको खुसी व्यक्त गर्न एक छुट्टै प्रकारको नाद निकालियो जुन आजसम्म युद्धको बेलामा प्रयोग गरिने गरिन्छ । अर्को नाद कुनै आफन्तजन या प्रिय जनको मृत्युको बेलामा शोक मनाउँन नाद गरे । कुनै प्राकृतिक शक्तिको आराधनाको लागि, माफि माग्न या शक्तिको अनुरोध गर्न पनि नाद गरे, जुन एकोहोरो हुन्थ्यो, यसलाई समन नाद भनिन्छ ।      

सुरुमा यी नादहरू केवल सिकार र समूहका सदस्यहरूको लागि मात्र थिए । यी नादहरूमा विशेष प्रकारका हुने भएकोले केवल समूहका व्यक्तिहरूको लागि मात्र या समूहका व्यक्तिले मात्र बुझ्दथे, आजको भाषा परिवारका सदस्यले आफ्नो भाषा बुझे जस्तै । सिकारमा नादसँगै अर्को दुई प्रकृयाहरू जोडिए, सामान्यतः ढुङ्गामा अर्को ढुङ्गा, कुनै जनावरको हड्डि, या सुकेको हाँगा ठोकेर आवाज निकाल्दै सिकारलाई तर्साउने र लखेटने र अर्को भुईँमा खुट्टा बजार्दै आवाज निकाल्ने । आदिम मानवले गरेका यी तीन प्रकृयाहरू बाट पछि गीत, वाद्य र नृत्य विकसित हुन पुग्यो । जति बेला भाषा थिएन त्यतिबेला मानिसले आफ्ना भावना व्यक्त गर्ने माध्यम यिनै नादहरू मात्र थिए । भाषाको विकास भने दुई कुराले हुन गयो, पहिलो मानिसको स्वरतन्त्रिको विकास र दोश्रो बिभिन्न पशुपन्छिहरूको आवाजको अनुकरण । पशुपन्छिहरूको आवाजको अनुकरणकै आधारमा विस्तारै शब्दहरू पनि बन्दै गए । उदाहरणको लागि विष शब्द सर्पको "हिस्" आवाजकै अनुकरणत्माक शब्द हो ।  

संसारमा बिभिन्न भाषाहरू छन्, तथापि, हर्ष, युद्ध, समन र शोक नादहरू अद्यापी संसारका बिभिन्न सभ्यतामा बिभिन्न रूपमा प्रचलनमा छन् । बच्चाहरू खेल्दा खुसी या डरमा निस्कने तिखो स्वर यही नाद हो जो अझै मानव घाँटीमा बिद्यमान छ । बोलि नफुटेका बच्चाहरूको किल्कारीझैँ आजभन्दा करिब बाह्र हजार वर्ष पहिले जब कुनै महिलाले कुनै अन्नको दाना ९भट्मास० अंकुरण भएको देखेकी थिइन्, त्यो बेला उनको घाँटीबाट यस्तै किल्कारी निस्किएको थियो, जसको अनेक नाम र प्रयोग आज थुप्रै देशहरूमा हुने गर्छन् । ती नादहरूका प्रयोगको केही स्वरूपहरूको आशिंक चर्चा तल गरिएको छ ।

खुमी तुभान (थ्रोट सिङ्गीङ) मङ्गोलियामा घोक्रोबाट गाउने प्रचलन छ, जसलाई खुमी तुभान भनिन्छ । यस्तै मङ्गोलिया र रुसका केही भागमा पशुपन्छिको आवाजको नक्कल गर्दै त्यस्तै आवाज निकालेर गीत गाउने प्रचलन छ । बाज समाउने र बाजबाट सिकार गराउन बाजको जस्तै आवाज निकाल्ने प्रचलन नेपालको पश्चिमी भाग, तिब्बत र मङ्गोलियामा प्रचलित छ र यसको लागि बाजको जस्तै आवाजमा अनुकरण नादको प्रयोग गरिन्छ । नेपालका हुम्ला जुम्लातिरका मान्छेहरू दोश्रो विश्वयुद्ध अघिसम्म बगदादसम्म बाज बेच्न जाने गर्दथे ।

योडलिङस् योडलिङ  कहाँबाट सुरु भयो त्यो खासै खुलेको छैन, तर यसको सुरुवात भेँडा गोठालाहरूबाट भएको मानिन्छ । अंग्रेजी भाषाको पाँच भवेलहरू प्रयोग हुने योडलिङ युरोप र अमेरिकामा ज्यादा प्रयोग हुन्छ भने अफ्रिकामा पनि योडलिङ प्रयोग हुन्छ । भारतमा जिन्दगी एक सफर है सुहाना गीतमा किशोर कुमारले योडलिङ गरेका छन् ।

तेघेहरिथाहस् तेघेहरिथाह आदिम मानव सभ्यताको नादकै रूप हो । तेघेहरिथाह अफ्रिकाका आदिवासी सभ्यताबाट निस्किएर सुमेर सभ्यता, ग्रिक हुँदै यो संसारभरि फैलियो । यो नादलाई नर्थ अफ्रिकामा तेघेहरिथाह भनिन्छ भने मध्य पूर्वका देशहरू र अरबमा जघरोहथ, फया जघरुते, या जोहरुथा भनिन्छ । यसमा स्त्रीहरू जिब्रोलाई दायाँ बायाँ या तलमाथि चलाएर उँचो स्वर निकाल्छन् र यसलाई तिब्रता दिन नाक मुनि अर्ध चन्द्राकार रूपमा या सिधा हात राखिन्छ । समूहमा निकाल्ने यो नादलाई कतै अरबिमा जघारिथ पनि भन्ने गरिन्छ । तेघेहरिथाहको अनुकरण जघरोह मध्यपूर्व एसिया, अरब, अफ्रिका नर्थ अमेरिका भारत, तिब्बत र मङ्गोलियामा समेत प्रचलनमा छ, तर तिब्बत र मङ्गोलियामा यो केवल अनकरणमा मात्र सीमित छ । आदिम ग्रिकहरू सत्रुको मनोबल गिराउन र आफ्ना सेनालाई उत्तेजित गर्न यो नादको प्रयोग गर्दथे, जसलाई अंग्रेजीमा ब्याटल क्राइ भनिन्छ । सोमालियन र नेटिभ अमेरिकनहरु पनि युद्धको बेलामा यस्तै आवाज निकाल्थे ।

तेघेहरिथाह किन गरिन्छ भन्नेमा एक मत छैन । तथापि, विश्वको सांस्कृतिक इतिहासको आधारमा यो विशेषतः स्त्रीसँगै जोडिएको छ । प्राचिन सुमेर सभ्यतामा आफन्तजनको मृत्यु भएमा शोकमा स्त्रीहरू "ऐलनु ऐलनु" भन्दै छाती पिटेर शोक देखाउने गर्दथे भने अन्तिम संस्कार पछि विशेषतः ऐलनु ऐलनु भन्दै रोएकी आमा तेघेहरिथाह गर्ने गर्थिन् । तेघेहरिथाह कृषि, स्त्री र जादुटुनासँग पनि जोडिएको छ । कृषिको सुरुवात स्त्रीले गरेकोमा दुई मत छैन । ससानो कुरालाई मिहीन रूपमा नियाल्न सक्ने खुबीका कारण अन्न अंकुरण प्रकृयाको ज्ञान सर्वप्रथम स्त्रीलाई नै भएको थियो । आदिम कृषिका सुरुवाती मानवले स्त्री प्रजनन प्रकृयाहरु र अन्न अंकुरण जस्ता खेतीका प्रकृयाहरू  दुवैलाई स्त्री रूपमै हेर्न थालेका थिए । कृषि स्त्रीहरूको कर्म क्षेत्र भित्रको कार्य भएकोले अधिक उब्जनीको लागि स्त्रीले गर्ने बिभिन्न प्रयत्नहरूलाई सुरुमा जादुटुनाको रूपमा लिइयो । गर्भवतीले वृक्षलाई अंगालो हाले त्यस वृक्षमा गर्भवती महिलाको शक्ति संचारित भएर थुप्रै फल दिने या गर्भवती स्त्रीले बीज छरे थुप्रै उब्जनी हुने जस्ता सामान्य विश्वास नै पछि गएर गोप्य कार्य हुन गए, जुन पछि जादुटुना हुन गयो र यही मतबाट तन्त्रको पनि विकास भयो । यही मत अनुसार दुष्ट या दूषित आत्माका कारण उब्जनी कम हुने या बाली बिग्रने विश्वासमा त्यस्ता दूरात्मालाई भगाउन गरिने जादुटुना मध्ये तेघेरिथाह पनि एक हो । यसैले तेघेहरिथाह स्त्री या स्त्री समूहद्वारा जादुटुना, आराधना, खुसीयाली र शोकमा गरिन्छ भने युद्ध र सिकारमा पुरुषले गर्ने गर्दछन् ।  

अफ्रिकाबाट प्रसारित तेघेहरिथाह अरबमा जोहरुथा भएको छ । जोहरुथा अरबमा कुनै खुसीयालीमा, कसैको शोकमा या तन्त्रमन्त्रद्वारा दूषित आत्मा भगाउन स्त्री या स्त्री समूहले निकाल्ने नाद हो । बिबाह घरमा विवाहको अवसरमा एक बुढी महिला श्लोक भन्छिन् र अन्य महिलाहरू श्लोक पछि खुसी प्रकट गर्न जोहरुथा गर्ने गर्दछन् ।

तेघेहरिथाह भारतमा पनि प्रसारित भएको छ र दक्षिण भारत बंगाल र आसामातिर यसको प्रयोग हुन्छ । आसाम र बङ्गाल तन्त्र साधनाका प्रख्यात स्थानहरु हुन्, यसैले तेघेहरिथाह कृषिको टुनामुना कार्यबाट विकसित तन्त्र साधनाको रूपमा काली पूजामा नाद गर्ने गरिन्छ जसलाई उलुध्वनी, जोयकार (जयकार) या जोका भन्ने गरिन्छ भने आसामीहरू उरूली जुकार (जुकार अर्थात् जयकार) भन्ने गर्छन् । दक्षिण भारतमा यसलाई कुलाभाइ साथम भन्ने गरिन्छ । भारतमा तेघेहरिथाह तन्त्र साधनाले पूजा गरिने देवीहरूको पूजा गर्दा गर्ने गर्दछन् ।

केटाकेटीमा डुम गरि खेल्दा या आदे पादे भन्दा ओंठ भित्र औंला हल्लाएर जुन ओ बो बो बो गरियो त्यो यही आदिम नादसँग गएर जोडिन्छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै