काठमाडौँ । गर्मी बढेसँगै शरीरमा पानीको आवश्यकता पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । चर्को घाम, पसिना र तापक्रम वृद्धिका कारण शरीरमा पानीको कमी हुने जोखिम उच्च रहने चिकित्सकहरू बताउछन् ।
यस्तो अवस्थामा धेरै मानिसले बढी पानी पिउनु नै पर्याप्त ठान्छन् । तर स्वास्थ्यविद्हरूका अनुसार पानीको मात्रा मात्र होइन, पिउने तरिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरले त्यसलाई पूर्ण रूपमा उपयोग गर्न नसक्ने र छिट्टै बाहिर निकाल्ने गर्छ । बरु दिनभर थोरै-थोरै गरेर पानी पिउँदा शरीरले राम्रोसँग सोस्ने र लामो समयसम्म पानीको सन्तुलन कायम रहने बताइन्छ ।
बिहान उठ्नेबित्तिकै खाली पेट एकदेखि दुई गिलास पानी पिउनु लाभदायक मानिन्छ । यसले शरीरभित्र सफाइ गर्न मद्दत गर्नुका साथै पाचन प्रक्रियालाई सक्रिय बनाउने हुँदा दिनभर शरीर ऊर्जावान रहने चिकित्सकहरूको भनाइ छ ।
खाना खाने बेलामा वा तुरुन्तपछि पानी पिउनु उपयुक्त नहुने बताइन्छ । यसले पाचन प्रक्रियामा असर पार्न सक्छ । त्यसैले खाना खाएको करिब आधा घण्टापछि पानी पिउनु राम्रो मानिन्छ ।
गर्मीमा धेरै चिसो पानी पिउँदा तुरुन्त राहत मिल्ने भए पनि यसले घाँटी दुख्ने, टाउको दुख्ने वा पाचन समस्या निम्त्याउन सक्ने जोखिम हुन्छ । त्यसैले सामान्य वा हल्का चिसो पानी पिउनु सुरक्षित विकल्प मानिन्छ ।
प्यास लागेपछि मात्र पानी पिउने बानी पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् । प्यास लाग्दा शरीरमा पानीको कमी सुरु भइसकेको हुन्छ । त्यसैले समय-समयमा पानी पिउँदै रहनु उपयुक्त हुन्छ । साथै नरिवल पानी, कागती पानी र मठ्ठाजस्ता प्राकृतिक पेय पदार्थले पनि शरीरलाई सन्तुलित राख्न सहयोग पुर्याउने जनाइएको छ ।
(यो सामग्री विभिन्न स्वास्थ्यसम्बन्धी अध्ययन तथा जानकारीका आधारमा तयार गरिएको हो ।)









