काठमाडौं । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भएको मतदान को मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार ६८० मतगणना गरिसक्दा अध्यक्षसहित चार जना पदाधिकारीमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता कायमै राखेको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ३३२ मत ल्याएका छन् । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीसहितको साथ पाएका राजकुमार ओझा ३२१ मतसहित पछ्याउँदै छन् ।
उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत ल्याएकी छन्। सचिवमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन् । उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन्।
उपसचिवमा भने झिनो मतान्तर छ। संस्थापन पक्षीय शिल्पा निराला कार्कीले ३२३ मत पाएकी छन भने ढकाल पक्षकी उषा झाले ३०८ मत पाएकी छन्। संस्थापन तर्फ कार्की मात्रै अघि छिन् । जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । ८ सय ८८ मत खसेको थियो। अब २०८ मत गन्न बाँकी छ ।