• २०८१ फाल्गुण २० मंगलबार

सम्बन्धलाई कसरी बुझ्छन् जेन जी पुस्ता ?

kharibot

ठाउँ, परिवेश, समय र पुस्तासँगै बदलिदैँ छ सम्बन्धको परिभाषा । मानिसहरू सम्बन्धलाई आआफ्नो दृष्टिकोणबाट हेर्छन् । कोही यसलाई गहिरो भावनात्मक एवं आत्मीय सम्बन्धको रूपमा लिन्छन् भने कोही सहज र हल्का रूपमा । कोही प्रेमलाई विवाहमा बदल्न खोज्छन्, कोही विवाहलाई प्रेममा । अनि कोही प्रेम र विवाहमा एउटैमा खोज्छन् । 

प्रेम र विवाहमा अड्किएको सम्बन्धलाई जेन जी पुस्ता भने फरक रुपमा बुझ्छन् । जेन जी (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्ता) सम्बन्धलाई कसरी लिन्छन् भन्ने कुरा आधुनिक समाज, प्रविधि र सांस्कृतिक परिवर्तनसँग जोडिएको छ । सामाजिक सञ्माल, डिजिटल ल्याटर्फममा सक्रिय यो पुस्ता आफ्नो व्यक्तिगत वृद्धि र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन्छन्, जसले गर्दा सम्बन्धलाई परम्परागतभन्दा फरक तरिकाले हेर्ने प्रवृत्ति देखिन्छ । 

प्रविधि र डिजिटल सम्बन्ध यो पुस्ता प्रविधिसँग घनिष्ठ रूपमा जोडिएको छ । सामाजिक सञ्जाल, डेटिङ एप्स र डिजिटल संवादका माध्यमबाट सम्बन्ध विकास गर्ने चलन व्यापक छ । च्याटिङ भिडियो कल र इमोजीहरूमार्फत उनीहरू भावना व्यक्त गर्छन् । डिजिटल विश्वमा रहेको यो सम्बन्ध कहिलेकाहीं सतही वा छिट्टै टुट्ने प्रवृत्ति पनि देखिन्छ । बे्रकअप र प्याचअप यो पुस्ता सहजै अपनाउछन् । 

भावनात्मक सम्बन्धको साथै जेन जी स्वतन्त्रता खोज्छन्, उनीहरू भावनात्मक रूपमा सन्तुलित र समर्थन गर्ने सम्बन्ध चाहन्छन् । उनीहरू भाइब्स (मानसिकता) मिल्ने सँगसँगै बाहिरी रूपमा सुहाउने साथी खोज्छन् । सम्बन्धमा भए पनि व्यक्तिगत स्वतन्त्रता गुमाउन चाहँदैनन् जेन जी । प्रतिबद्धताप्रति फरक दृष्टिकोण रहेको जेन जी लेट म्यारिज वा नो म्यारिजको विकल्प अपनाउन थालेका छन् । 

कोही भने लिभिङ टुगेदरमा रमाउन खोज्दैछन् । जेनजी ओपन रिलेसनशिप जस्ता अवधारणाहरूलाई केही हदसम्म सहज रूपमा लिन्छन् । विवाह गर्न कण्डली होइन भाइब्स मिल्नपर्छ भन्छन् यो पुस्ता । मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने भएकाले यदि कुनै सम्बन्ध टक्सिक (नराम्रो, विषाक्त) छ भने त्यसलाई छोड्न पछि हट्दैनन् । उनीहरुका अनुसार सम्बन्धमा आफूलाई र अर्कोलाई बदल्ने प्रयास गर्नुको सट्टा प्रत्येक व्यक्तिलाई उसको मौलिक स्वरूपमा स्वीकार गर्नुपर्छ ।  अन्तरजातीय विवाह, कोर्ट म्यारिज, समलिंगी प्रेमका अवधारणालाई पनि यो पुस्ता सहज रुपमा अपनाउन चाहन्छन् । उनीहरु आफु फरक यौन अभिमुखी (लेसवियन, गे) भएका कुरा पनि सहजै स्वीकार्दै आफ्ना भावनालाई स्वतन्त्र प्रस्तुत गर्छन् । सामाजिक सञ्जालमा यस्ता भिडियोहरु पनि प्रशस्तै देख्न सकिन्छ । 

अहिलेको सम्बन्धमा इमानदारिता त कम नै छ । विश्वास, आत्मविश्वास सबै आवश्यक हुन्छ सम्बन्धमा तर आजकल त्यो पाइदैँन । १९ वर्षीय अस्विना आचार्य भन्छिन्, “म चाहिँ रिलेशनसिपलाई लिएर सिरियस नै छु । मलाई प्रेम र सम्बन्ध भनेको बिहेसम्म नै लग्नुपर्छ भन्ने लाग्छ । 

आफ्नो स्वतन्त्रता, भविष्यसँगै सम्बन्धलाई पनि लग्नुपर्छ । केटाकेटीको सम्बन्धमा परिवारको पनि मन्जुरी भए राम्रो हन्छ । समय जस्तो आए पनि परिवार र समाजकोबारेमा सोच्नपर्छ जस्तो लाग्छ अनि समाजले पनि सम्बन्धलाई सहजै स्वीकार गर्नपर्छ” उनले थपिन्, “आफु र आफ्नो अस्तित्वको पनि ख्याल त राख्नै प¥यो तर हाम्रो पुस्ताले पनि परिवारको सोचको ख्याल चाहिँ गर्नपर्छ । सकेसम्म आफ्नो सम्बन्ध परिवारको खुसी मै कायम होस् ।”  

यो पुस्ताले सम्बन्धलाई परम्परागत पुस्ताहरूभन्दा फरक तरिकाले हेर्ने गरेको पाइन्छ । अनलाइन डेटिङ, सोशल मिडिया र च्याटिङले सम्बन्धको स्वरूप बदलिएको छ । आधाभन्दा बढी जेन जीको प्रेम सम्बन्ध फेसबुक, इन्स्टाबाट बनेका छन् । कतिको बिहे नै भएको छ । अघिल्लो पुस्ताभन्दा जेन जीले मानसिक स्वास्थ्य र भावनात्मक स्थिरतालाई बढी महत्व दिन्छ । 

१८ वर्षीय कृतिका मगर सम्बन्धलाई फरक ढंगले बझ्छिन् । उनका अनुसार प्रेम ,विवाह भनेको जीवनका अनावश्यक तत्वहरु हुन् । “मलाई प्रेम, विवाह जस्ता कुरामा विश्वास लाग्दैन । कसैसँग सम्बन्ध कायम गरेपछि आफुलाई धरै इन्भेष्ट गर्नुपर्छ जस्तो लाग्छ । मलाई चाहिँ कमिटमेन्ट मन पर्दैन र बिहे पनि गर्नु छैन । उनले भनिन्, विवाह प्रेमले जीवनमा पछि पार्छ । अनि म यो चाहन्न । आफु स्वतन्त्र भएर बस्न मन पर्छ मलाई चाहिँ । कोहीसँगै सम्बन्धमा बस्नु परेपनि विवाहभन्दा लिभिङमा बस्न ठिक लाग्छ । कुरा नमिले आनन्दले छुटिन पाइयोस् । ”

 टक्सिक सम्बन्धलाई चाँडै चिन्दै “रेड फ्ल्याग्स” बाट टाढा रहन खोज्छन् जेनजी । कतिपय परम्परागत विवाहलाई त्यति महत्व दिन्नन् र “लाइफ पार्टनर” भन्ने अवधारणालाई लचिलो रूपमा हेर्छन् । उनीहरु यौन जीवनलाई पनि स्वतन्त्र रुपमा लिन चाहन्छन् । आफ्ना चाहाना, इच्छा स्वतन्त्र भएर पूरा गर्न पाउनुपर्छ भन्ने चाहन्छन् यो पुस्ता । 

२५ वर्षीय संजय मानन्धर भने सम्बन्धलाई आफ्नो अस्तित्व बिर्साउने तत्व मान्छन् । उनका अनसार आजकलको समयमा कसैसँग रिलेसनमा बस्नु भनेको आफलाई बिर्सन हो । “आजकल त माया प्रेम भनेको सबै देखावटी नै हो । जसले जति माया गर्छ भनेपनि आखिर त्यही शारीरिक सम्बन्धमा गएर सकिने न हो । यौन चाहाना पूरा गर्न माध्यम बनेको छ आजकलको सम्बन्ध त । यो पुस्ताले सम्बन्धलाई निकै हलका रुपमा बुझिरहेका छौ । त्यसैले मलाई चाहिँ मन पर्दैन माया प्रेम भन्ने कुरो । सकेसम्म एक्लै बस्ने हो । परिवारको करकापमा बिहे गरिएछ भने नि मागी विवाह नै होला सायद । ” उनले भने, “बिहे गरिएछ भने पनि डिभोर्स गरेर फेरि सम्पत्ति नै भाग लगाउन चाहिँ नपरोस् । भए सधैँलाई नत्र नहोस् नै भन्ने लाग्छ मलाई यो सम्बन्धहरु । आफ्नो इच्छा,सपना पूरा गर्न सकियोस् बिहे भयो भने नि । परिवार नै भनेर जीवन काट्न नपरोस् । ”

जेन जी का लागि सम्बन्ध केवल सामाजिक दायित्व होइन, बरु स्वतन्त्रता, र भावनात्मक सन्तुलनको समिश्रण हो । उनीहरू प्रतिबद्धतालाई गम्भीर रूपमा लिन्छन् तर सम्बन्धलाई जबर्जस्ती टिकाइराख्न चाहँदैनन् । उनीहरु आफ्नो सम्बन्ध,विचार, भावनामा स्वतन्त्रता चाहन्छन् । समाजको स्थापित मूल्य मान्यताभन्दा फरक सोच्छन् जेन जी । प्रविधि, मानसिक स्वास्थ्यप्रति सचेतना, र व्यक्तिगत स्वतन्त्रताको सम्मान जेनजीको सम्बन्धको परिभाषा हो । तपाईंको विचारमा, जेनजी को सम्बन्ध प्रतिको दृष्टिकोण सही छ कि छैन ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै