काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले संसद्मा विचाराधीन विधेयक अगाडि बढाउन आफ्नो दलबाट पाँच जनालाई फोकल पर्सन तोकेको छ ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मूख्य सचेतक महेश बर्तौलासहित बसेको बैठकले पाँच सांसदलाई फोकल पर्सन तोकेको हो ।
फोकल पर्सनको जिम्मेवारी पाउनेमा छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, सूर्य थापा, रघुजी पन्त र नैनकला थापा मगर छन् ।
संघीय निजामती सेवा विधेयक, अख्तियार ऐन संशोधन विधेयक, भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र निर्माणमुखि सामग्री विधेयक विचाराधीन रहेको राज्य व्यवस्था समितिमा समन्वय गर्ने जिम्मा पन्तले पाएका छन् ।
बैंक तथा वित्तीय संस्था विधेयक, सुरक्षित कारोबार ऐन संशोधन विधेयक, धितोपत्र ऐन संशोधन विधेयक, आर्थिक कार्यविधि ऐन संशोधन विधेयक र भन्सार विधेयक दफावार छलफलमा रहेको अर्थ समितिको जिम्मा सूर्य थापाले पाएका छन् ।
पूर्वाधार विकास समितिमा गोर्कण विष्ट हुँदा नैनकलाले कानुन न्याय तथा मानव अधिकार समितिको जिम्मा पाएकी छन् । नैनकला उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जिम्मा सचिव छविलाल विश्वकर्माले पाएका छन् ।
एमालेले जस्तै सत्तारुढ दल नेपाली कांग्रेसले पनि आज फोकल पर्सन तोक्ने तयारी गरेको छ ।