काठमाडौँ । अमेरिकन मेजर लिग सकरले इन्टर मियामीका लियोनेल मेसी र लुइस स्वरेजलाई जरिवाना गरेको छ ।
इन्टर मियामीको न्यूयोर्क सिटीविरुद्धको खेलपछि सहायक प्रशिक्षकसँग झगडा गरेको आरोपमा लिगले मेसी र स्वरेजलाई जरिवाना गरेको हो ।
लिगले इन्टर मियामीका लियोनेल मेसीलाई न्युयोर्क सिटीका प्रशिक्षक मेहदी बलोचीको घाँटीमा हात राखेको आरोपमा जरिवाना गरिएको जनाएको छ । लिगले कति जरिवाना गरेको भन्ने खुलाएको छैन ।
यो घटना इन्टर मियामी र न्यूयोर्क सिटीबीच फेब्रुअरी २३ मा भएको खेलपछि भएको थियो । खेल सकिएपछि मेसी र प्रशिक्षक बलोचीबीच मौखिक भनाभन भईरहदा मेसीले उनको घाटीमा समातेको आरोप लगाइएको छ ।
त्यस्तै इन्टर मियामीका लुइस स्वरेजलाई पनि यस्तै घटनाको लागि लिगले जरिवाना गरेको छ । सोहि खेलको हाफ टाइममा स्वरेज र न्यूयोर्क सिटीका डिफेन्डर बिर्क रिसाबीच भनाभन भएको थियो र टोलीका साथीहरूले हस्तक्षेप गर्नु अघि स्वरेजले डिफेन्डर रिसाको घाँटी समात्न खोजेको पाइएको थियो।
मेजर लिग सकरले मेसी र स्वरेज दुवैले लिगको अनुशासन उलंघन गरेको उल्लेख गर्दै जरिवाना गरेको बताएको छ ।