• २०८१ फाल्गुण १३ मंगलबार

अमेरिकाले युएसएड बन्द गरेपछि मर्न सक्छन् एड्सका लाखौ विरामी !

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि लिएका पहिलो निर्णयहरूमध्ये सबैभन्दा प्रमुख भनेको विश्वभर अमेरिकाले दिने विदेशी सहायता रोक्ने निर्णय थियो । अब यो निर्णयको प्रभाव देखिन थालेको छ । संयुक्त राष्ट्रसंघ (युएन) एड्स कार्यक्रमकी निर्देशक विनी ब्यानिमाले अमेरिकाले विदेशी सहायता बन्द गरेमा विश्वभर लाखौं एड्स बिरामीको मृत्यु हुन सक्ने चेतावनी दिएकी छिन् ।

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्र संघलाई वैदेशिक सहायता प्रदान गर्ने विश्वको सबैभन्दा ठूलो प्रदायक हो । अमेरिकाले आफ्नो एजेन्सी युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएड) मार्फत यो सहयोग प्रदान गर्दै आएको छ । जनवरी २० मा पदभार ग्रहण गरेपछि, ट्रम्पले तीन महिनाको लागि युएसएडद्वारा प्रदान गरिएको विदेशी सहायता रोकेका थिए । यसले मानवीय राहत कार्यमा विश्वभर ठूलो प्रभाव पारेको छ । युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यान्याइमाले विदेशी सहायता कोष सकियो भने मानिसहरू मर्ने बताएकी छन् । उनले एड्सबाट हुने मृत्युदर दश गुणा बढ्न सक्ने चेतावनी दिएकी छन् ।

फाउन्डेसन फर एड्स रिसर्चको विश्लेषण अनुसार, अमेरिकी सहायताले २ करोडभन्दा बढी एचआईभी बिरामीहरू र २ लाख ७० हजार स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्दछ । यदि विदेशी सहायता बन्द भयो भने, यसले पाँच वर्षमा लगभग ६३ लाख मानिसहरूको मृत्यु हुन सक्छ, जुन एड्स भन्दा दश गुणा बढी हो । अमेरिकाले जीवन बचाउने उपचार औषधिहरूलाई प्रतिबन्धबाट छुट दिएको भए तापनि अफ्रिकामा पनि यी सुविधाहरू बन्द गरिएका छन् ।

इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी शिखर सम्मेलनलाई सम्बोधन गर्दै ब्यान्यायिमाले यो कुरा बताएकी हुन् ।

युएसएडको सुरुवात अमेरिकाले सन् १९६१ मा गरेको थियो । यसको वार्षिक बजेट ४० अर्ब डलरभन्दा बढी छ । हाल ट्रम्पले यसमा तीन महिनाको लागि प्रतिबन्ध लगाएका छन् । ट्रम्पले तीन महिनाको समीक्षा पछि यो कोष पुनः सुरु गर्ने या नगर्ने निर्णय गर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै