काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन जनाउन नसकिने जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै अध्यक्ष महन्थ ठाकुरले भूमिसम्बन्धी अध्यादेशमा समर्थन जनाउन नसकिने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ- 'यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, राना थारुलगायतका पूर्ण रूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।'
यसअघि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि अरु पाँचवटा अध्यादेशमा विचार गर्न सकिने भए पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नजनाउने निर्णय गरिसकेको छ ।