काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार दिउँसो १२ बजेसम्म बन्धक रिहा नगरे गाजा युद्धविराम सम्झौता अन्त्य गर्ने चेतावनी दिएका छन् । यसअघि हमासले अर्को सूचना नभएसम्म थप बन्धक रिहाइ नगर्ने घोषणा गरेपछि नेतन्याहुको यस्तो चेतावनी आएको हो ।
हमासले इजरायलमाथि युद्धविरामको सम्झौता पालना नगरेको आरोप लगाउदै आगामी शनिबार बन्धक रिहा नगर्ने घोषणा गरेको थियो । प्रधानमन्त्री नेतन्याहुले आफुले इजरायली सेनालाई गाजाभित्र र यसको चारैतर्फ जम्मा हुन आदेश दिइसकेको बताउदै शनिबार बन्धक रिहा नगरे भिषण आक्रमण गर्ने बताएका छन् ।
नेतन्याहुले हमाससँग रहेका बाँकी सबै ७६ जना बन्धक रिहाइका लागि दिएका हुन् या पूर्व सहमति अनुसार शनिबार रिहा गर्ने भनिएका तीन जना बन्धक रिहाको बारेमा दिएका हुन् भन्ने बारेमा भने स्पष्ट भएको छैन ।
हमासले बन्धक रिहाइ नगर्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले शनिबार दिउँसो १२ बजे सम्ममा सबै बन्धक रिहा नभए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिएका थिए ।
ट्रम्पको सो धारणापछि इजरायली मन्त्रिपरिषद्को सुरक्षा समितिको चार घण्टासम्म चलेको बैठकपछि जारी भिडियोमा नेतन्याहुले राष्ट्रपति ट्रम्पले अघि सारेको शर्तको स्वागत गर्दै हमासलाई चेतावनी दिएका छन् ।
नेतन्याहुको चेतावनी पछि हमासले आफूहरु युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको र कुनै जटिलता वा ढिलाई भए इजरायल नै यसका लागि जिम्मेवार हुने बताएको छ ।
युद्धविरामको सहमति अवरुद्ध हुदा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाई पनि अन्योलमा परेको छ । जनवरी १९ मा युद्धविराम सम्झौता भएपछि हमासले १६ इजरायली र ५ थाइल्याण्डका बन्धकलाई छोडेको थियो ।