काठमाडौं । दाङको स्वर्गद्वारी गुठीको समस्या सुन्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वार्ता टोली गठन गरेको छ ।
उक्त वार्ता टोलीको संयोजकमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव मदन कोइराला संयोजक, कानुनका उपससचिव महेन्द्रकुमार साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहेका छन् । संघर्षरत पक्षलाई वार्तामा आउन पनि मन्त्रालयले आह्वान गरेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति नामबाट काठमाडौंको माईतीघरमा भइरहेको आन्दोलनप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयन लागि आवश्यक कारबाही अगाडि बढाइसकेको व्यहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयबस्तुलाई संवादका माध्यमबाट सम्बोधन गर्न संघर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछ। वार्ताका लागि यस मन्त्रालयका तर्फबाट सहसचिव मदन कोइरालाको संयोजकत्वमा उपसचिव महेन्द्रप्रसाद साँखी र नेपाल गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य रहने गरी तीन सदस्यीय वार्ता समिति गठन गरिएको व्यहोराका साथै संघर्षरत पक्षबाट समेत आफ्नो आधिकारिक वार्ता टोली बनाइ वार्तामा आउन यसै विज्ञप्तिद्वारा जानकारी गराइन्छ।’