काठमाडौँ । भारतको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालको हारको चर्चा चलिरहेको छ । यसै चर्चाबीच केजरीवाल चुनाव लडेको नयाँ दिल्ली विधानसभा क्षेत्रमा ३७ हजारभन्दा बढी मतदाताको नाम हटाइएको खुलासा भएको छ ।
चुनावको नतिजाको विश्लेषण गर्नेक्रममा भारतीय मिडियाहरुले २०२० को चुनावको तुलनामा यस क्षेमा ३७ हजार ५४८ मतदाताको नाम हटाइएको खुलासा भएको हो ।
गत डिसेम्बर २९ मा, आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले आरोप लगाएका थिए, भाजपाले उनको विधानसभा क्षेत्र नयाँ दिल्लीबाट ठूलो संख्यामा मतदाताको नाम मेटाइरहेको छ । त्यसपछि निर्वाचन आयोगले ती मतदाताहरूको नाम हटाइएको बताएको थियो जो या त दिल्लीको अन्य कतैबाट मतदाता बनेका छन् वा उनीहरूको नाम अन्य विधानसभा क्षेत्रहरूको मतदाता सूचीमा पनि छ ।
नयाँ दिल्ली विधानसभा सिटको बारेमा धेरै प्रकारका दाबी र प्रति-दावीहरू भइरहेका थिए । २०२० को दिल्ली विधानसभा चुनावको तुलनामा यस पटक मतदाता संख्या घटेको १२ सिटमध्ये नयाँ दिल्ली विधानसभा सिट पनि एक हो ।
यसका साथै, नयाँ दिल्ली ती दुई विधानसभा सिटहरू मध्ये एक हो, जहाँ यस चुनावमा २० प्रतिशतभन्दा बढी मतदाताको नाम मतदाता सूचीबाट हटाइएको थियो। दोस्रो विधानसभा सिट दिल्ली क्यान्ट हो । दिल्ली क्यान्टमा आम आदमी पार्टीले जित्यो र नयाँ दिल्लीमा हारेको छ ।
२०२० को दिल्ली विधानसभा चुनावमा नयाँ दिल्ली विधानसभा क्षेत्रमा कुल मतदाता संख्या एक लाख ४६ हजार १२२ थियो, जुन २०२५ को विधानसभा चुनावमा घटेर एक लाख ८ हजार ५७४ पुगेको छ । अर्थात् ३७,५४८ मतदाताको नाम हटाइएको थियो ।
यस पटक, केजरीवालले नयाँ दिल्ली विधानसभा सिटमा कुल २५ हजार ९९९ मत पाएका छन्, जुन २०२० को विधानसभा चुनावभन्दा २० हजार ७५९ मत कम हो । यस पटक भाजपाले ३० हजार ८८ मत पाएको छ जुन २०२० को भन्दा ५ हजार २७ मत बढी हो । २०२० को तुलनामा कांग्रेसले १,३४८ बढी मत पाएको छ ।
२०२४ को लोकसभा चुनाव र २०२५ को विधानसभा चुनावको बीचमा, नयाँ दिल्ली विधानसभा क्षेत्रमा मतदाताहरूको संख्या २,२०९ ले बढेको छ । तर २०२० को दिल्ली विधानसभा चुनाव र २०२४ को लोकसभा चुनावको बीचमा, नयाँ दिल्ली विधानसभा सिटमा मतदाताको संख्या २७.२ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ ।