काठमाडौँ । अमेरिकाले अवैध भारतीय नागरिकलाई हथकडी र हत्केलाले बाँधेर देश निकाला गरिएकोमा भारतले प्रतिक्रिया जनाएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता विक्रम मिश्रीले आफ्नो देशका नागरिकलाई उचित व्यवहार गर्नुपर्ने बताएको हो ।
अमेरिकाले १०४ भारतीय नागरिकलाई हथकडी लगाएर भारत पुर्याएको विषय अहिले चर्चामा रहेको छ ।
उनले पत्रकार सम्मेलनमा भने- 'हामी अमेरिकी अधिकारीहरूसँग नियमित सम्पर्कमा छौं । हामीले सधैं कुनै पनि देशमा अन्य देशका नागरिकहरूलाई उचित व्यवहार गर्नु महत्त्वपूर्ण हुने कुरा बताएका छौं । यदि उनीहरूलाई देश निकाला गर्नु परे पनि, उनीहरूलाई उचित व्यवहार गर्नु महत्त्वपूर्ण छ ।' मिश्रीले विदेशमन्त्री एस जयशंकरले अमेरिकाले भारतीयहरूलाई फिर्ता पठाएको तरिकाको बारेमा सदनमा पहिले नै बोलिसकेको बताउदै यस बारेमा आफूसँग नयाँ कुरा नभएको बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार शुरु गरेपछि अवैध आप्रवासीलाई डिपोर्ट गर्न शुरु गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार अमेरिकामा सन् २०१२ देखि नै देश निकालाको यो प्रक्रिया अपनाइएको छ र यो नयाँ नभएको बताउदै आएको छ ।
बिहीबार संसदमा विपक्षी सांसदहरूले अमेरिकाबाट भारतीयहरूलाई फिर्ता पठाइएको तरिकालाई अपमानजनक भएको भन्दै आलोचना गरेका थिए ।