काठमाडौँ । भारतको दिल्ली विधानसभा चुनावको मतदान प्रक्रिया बुधबार सम्पन्न भएको छ । अब मतगणना फेब्रुअरी ८, शनिबार हुनेछ ।
दिल्लीमा लगभग ५८ प्रतिशत मतदान भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २०२० मा भएको विधानसभा चुनावमा ६२.५५ प्रतिशत मतदान भएको थियो भने २०१५ मा, लगभग ६७ प्रतिशत मतदान भएको थियो । चुनावी नतिजा अनुमान गर्न विभिन्न एक्जिट पोलहरू आउन थालेका छन् ।
अहिलेसम्म आएका सबै एक्जिट पोलहरूमा भारतीय जनता पार्टीले अग्रता लिएको देखाइएको छ । जबकि आम आदमी पार्टी दोस्रो ठूलो पार्टीको रूपमा देखाइएको छ ।
म्याट्रिक्सको एक्जिट पोलमा आम आदमी पार्टीले ३२ देखि ३७ सिट पाउने भविष्यवाणी गरिएको छ भने भाजपालाई ३५ देखि ४० र कांग्रेसलाई ०-१ सिट दिइएको छ । त्यस्तै चाणक्य रणनीतिको एक्जिट पोलमा भाजपालाई ३९ देखि ४४, आम आदमी पार्टीलाई २५ देखि २८ र कांग्रेसलाई २ देखि ३ सिट दिइएको छ।
त्यसैगरी, जेभीसी पोलमा, भाजपाले ३९ देखि ४५ सिट जित्ने अनुमान गरिएको छ। जबकि आम आदमी पार्टीले २२ देखि ३१ सिट र कांग्रेसले ०-२ सिट जित्ने अनुमान गरिएको छ । त्यस्तै, पिपुल्स पल्स-कोडेमाको एक्जिट पोलमा भाजपाले ५१ देखि ६० सिट र आम आदमी पार्टीले १० देखि १९ सिट जित्ने अनुमान गरिएको छ भने कांग्रेसलाई एक पनि सिट दिइएको छैन ।
त्यसैगरी, पोल डायरी एक्जिट पोलमा भाजपाले ४२ देखि ५० सिट र कांग्रेसले १८ देखि २५ सिट जित्ने प्रक्षेपण गरिएको छ। यसमा कांग्रेसले ०-२ सिट जित्ने अनुमान गरिएको छ । त्यस्तै, पिपुल्स इनसाइटको एक्जिट पोलमा भाजपालाई ४०-४४ र आम आदमी पार्टीलाई २५-२९ सिट दिइएको छ। जबकि कांग्रेसलाई ०-१ सिट दिइएको छ ।
त्यसैगरी, पी-मार्कको एक्जिट पोलमा भाजपाले ३९-४९ सिट जित्ने अनुमान गरिएको छ। यस सर्वेक्षणमा, आपलाई २१-३१ सिट दिइएको छ, जबकि कांग्रेसले ०-१ सिट पाउने अनुमान गरिएको छ । त्यस्तै डीभी रिसर्चको एक्जिट पोलमा भाजपालाई ३६-४४ र आम आदमी पार्टीलाई २६-३४ सिट दिइएको छ ।
२०२० को विधानसभा चुनावमा आम आदमी पार्टीले ७० मध्ये ६२ सिटमा जित हासिल गरेको थियो ।