काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच भेटवार्ता भएको छ । नेतान्याहूले राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइटहाउसको पहिलो विदेशी पाहुनाको रुपमा वाशिंटन पुगेर ट्रम्पसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तापछि दुवैले पत्रकार सम्मेलन गर्दै गाजामा जारी युद्ध र युद्धविराम बारे आफ्नो धारणा राखेका छन् । दुवै नेताले प्यालेस्टिनीहरूले गाजा छोड्नुको विकल्प नभएको जिकिर गरेका छन् । ट्रम्पले जोर्डन र इजिप्टले गाजाका प्यालेस्टिनीहरूलाई आश्रय दिनुपर्ने सुझाव अगाडी सरेका छन् । साथै ट्रम्पले गजालाई अमेरिकाले आफ्नो कब्जामा लिएर पुनर्विकास गर्ने समेत बताए ।
ट्रम्पले गाजालाई पुनर्वास गर्नुको सट्टा प्यालेस्टिनीहरूलाई नयाँ ठाउँमा बसोबासको व्यवस्था गर्नु राम्रो हुने बताए । यदि सही ठाउँ फेला पार्न सकियो र त्यहाँ राम्रा घरहरू बनाउन सकियो भने, प्यालेष्टाइनीहरुका लागि गाजा फर्कनु भन्दा राम्रो हुने उनको तर्क छ ।
ट्रम्पले गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू हटाउन र भत्किएका भवनहरू पनि सफा अमेरिकाले गर्न सक्छ भन्दै त्यहाँका मानिसहरूका लागि असीमित रोजगारी र आवास सिर्जना गर्ने आर्थिक विकास गर्न सकिने धारणा राखेका छन् ।
नेतान्याहूले ट्रम्पको प्रस्तावलाई 'गाजाको भूमिको लागि नयाँ भविष्य' भनेर वर्णन गरे र यसमा ध्यान दिन आवश्यक रहेको बताए ।
हमासले ट्रम्पको प्रस्तावलाई तुरुन्तै अस्वीकार गरेको थियो । हमासका वरिष्ठ अधिकारी सामी अबु जुहरीले अमेरिकी राष्ट्रपतिको भनाइ गाजामा अराजकता र तनाव बढाउने नुस्खा भएको प्रतिक्रिया दिएका छन् । हमासले जारी गरेको विज्ञप्तिमा उनले भने, 'हाम्रा जनताले गाजामा यी योजनाहरू कार्यान्वयन हुन दिने छैनन्।' महत्त्वपूर्ण कुरा भनेको हाम्रा जनतामाथिको कब्जा र आक्रमण अन्त्य गर्नु हो, र उनीहरूलाई उनीहरूको भूमिबाट निकाल्नु होइन ।' इजिप्ट र जोर्डनले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गरेका छन् ।
अमेरिकाले इजरायल र हमासलाई युद्धविराम जारी राख्न निरन्तर दबाब दिइरहेको छ । यस सन्दर्भमा, ट्रम्प र नेतान्याहू बीचको भेटघाट धेरै विशेष मानिएको छ । इजरायल र हमास बीचको १५ महिनाको युद्ध पछि जनवरी १९ मा युद्धविराम सुरु भएको छ ।
यस समयमा, बन्धकहरू साटासाट भइरहेका छन् । युद्धविरामको अर्को चरणको बारेमा फेब्रुअरी ३ देखि छलफल भएको छ । यसको उद्देश्य स्थायी रूपमा युद्ध अन्त्य गर्नु रहेको दुवै पक्षले बताउदै आएका छन् ।