काठमाडौं । संघीय संसदका चारवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन् ।
आज अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल हुनेछ । बैठक बिहान ११ बजेदेखि बस्दै छ ।
त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ । यस बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
आज अपराहन्न १ बजेदेखि शुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाका बारेमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।