• २०८१ माघ २३ बुधबार

भारतको दिल्ली विधानसभाको निर्वाचन आज

kharibot

काठमाडौँ । भारतको दिल्ली विधानसभाको ७० सिटको लागि आज एकै चरणमा मतदान हुदै छ । १.५५ करोड मतदाताले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

लोकसभा चुनावमा इन्डिया एलाइन्समा रहेका पाँच दलहरू दिल्ली चुनावमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । यी मध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन् ।

यसैबीच, भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) ले ६ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ, भारतीय कम्युनिष्ट पार्टी-मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिष्ट पार्टी-मार्क्सवादी लेनिनवादी (सीपीआई-एमएल) ले २-२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ ।

त्यस्तै भाजपाले ६८ सिटमा उम्मेदवार खडा गरेको छ । गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । यसमा जनता दल-युनाइटेड (जेडीयू) ले बुरारीबाट आफ्नो उम्मेदवार उठाएको छ र लोक जनशक्ति पार्टी-रामविलास (एलजेपी-आर) ले देवली सिटबाट आफ्नो उम्मेदवार उठाएको छ ।

महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ले ३० सिटमा चुनाव लडिरहेको छ । शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेका छन् ।

यसबाहेक बहुजन समाज पार्टी (बसपा) ले ७० सिटमा र असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस-ए-इत्तेहादुल मुस्लिमीन (एआईएमआईएम) ले १२ सिटमा चुनाव लडिरहेको छ । चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्रसहित विभिन्न दलका कुल ६९९ उम्मेदवार चुनावी मैदानमा छन् ।

दिल्ली विधानसभाको २०२० मा भएको निर्वाचनमा आम आदमी पार्टीले ६२ सिटमा चुनाव जितेको थियो भने भारतीय जनता पार्टीले ७ सिटमा चुनाव जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै