धनगढी । भीमदत्त नगरपालिकाका काँग्रेस नगर सभापति अच्युतराज कलौनी मृत फेला परेको घटना रहस्यमय देखिएको छ । काँग्रेस नगर सभापति कलौनी शनिवार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिक मृत फेला परेका थिए ।
कलौनी मृत भेटिएको घटनापछि गृहमन्त्री रमेश लेखक कञ्चनपुर आएका छन् । गृहमन्त्री लेखकले कलौनीका बुवा जनकराजसँग भेट गरेका छन् । गृहमन्त्रीसँगको भेटकका क्रममा जनकराजले छोराको हत्या भएको आशँका गरेका छन ।
लेखकसँग उनले छोराको शव फेला परेको स्थानको घर लामो समयदेखि खाली रहेको बताए । घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने उनले आशँका गरेका हुन ।
अच्युत शनिवार बिहान मृत फेला परेका थिए । उनले प्रयोग गर्ने मोबाइल फेला नपरेकाले थप आशँका उत्पन्न भएको बताइएको छ ।
गृहमन्त्री लेखकले कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीसँग घटनाका बारेमा जानकारी लिएका छन् । घटनालाई सबै कोणबाट अनुसन्धान गर्न उनले निर्देशन दिएका छन् । अच्युतको शव पोस्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।