काठमाडौँ । नेपालले जारी महिला त्रिकोणात्मक टी-२० सिरिजमा लागातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटको हार बेहोरेको हो ।
नेपालले दिएको १०२ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।
नेपालका लागि कबिता कुँवर र बिन्दु रावलले २५-२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । थाइल्याण्डका लागि बलर थिपाटचा पुथावोंगले ३ विकेट लिएकी थिइन् भने फनिता माया र नाताया बोचाथामले २-२ विकेट लिएका थिए ।
यो हारपछि नेपालले सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।
त्यस्तै थाइल्याण्डले भने सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । यस अघि थाइल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेको थियो ।
अब अर्को खेल आइतबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।