काठमाडौँ । आकाशमा हेलिकप्टरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको अमेरिकी एयरलाइन्सको विमानको ब्ल्याक बक्स फेला परेको छ ।
बिबिसीका अनुसार विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर, जसलाई ब्ल्याक बक्स भनिन्छ, फेला परेको अधिकारीहरूले बताएका छन् ।
ब्ल्याक बक्स मार्फत समस्या कहाँबाट आयो भनेर पत्ता लगाउन सम्भव हुनेछ । ब्ल्याक बक्सको जाँच राष्ट्रिय यातायात सुरक्षा बोर्ड प्रयोगशालामा गरिने बताइएको छ ।
अमेरिकाको वाशिंगटन डीसी नजिकै अमेरिकन एयरलाइन्सको विमान हावामा ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किदा विमानमा रहेका सबै ६४ जनाको मृत्यु भयो भने हेलिकप्टरमा रहेका तीन सैनिकको पनि मृत्यु भएको छ । विमान आकाशमा ठोक्किएपछि विमान हावामा दुई भागमा टुक्रिएर पोटोम्याक नदीमा खसेको थियो । यसपछि नदीमा खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो ।
अहिले नदीमा गोताखोरले खोजी कार्य स्थगित गरेर दुर्घटनाग्रस्त विमानको भग्नावशेष हटाइएपछि र अवस्था सुरक्षित भएपछि, गोताखोरहरूले आफ्नो काम पुनः सुरु गर्ने बताइएको छ । अहिलेसम्म नदीबाट ४० जनाको शव निकालिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।