• २०८१ माघ १३ आइतबार

अमेरिकामा अवैध आप्रवासीहरूमाथि कारबाही शुरु, ५३८ जना पक्राउ

kharibot

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेदेखि नै प्रशासनले अवैध आप्रवासीहरूमाथि कारबाही गर्न थालेको छ ।  मिडिया रिपोर्टका अनुसार ट्रम्पले शपथ लिएको पहिलो दिनमा ५३८ अवैध आप्रवासी पक्राउ परेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अहिलेसम्म ५३८ अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको र ३७३ जनालाई हिरासतमा राखेर शिविरमा पठाइएको जानकारी दिएकी छन् । 

ट्रम्प प्रशासनले इतिहासकै सबैभन्दा ठूलो देश निकाला अभियान चलाएको उनले बताएकी छन् । उनीहरुलाई सम्बन्धित देशमा डिपोर्ट गरिने बताइएको छ । 

रिपोर्टका अनुसार, अध्यागमन तथा भन्सार प्रवर्तनले वासिङ्टन डीसी लगायत धेरै शहरहरूमा अवैध आप्रवासीहरूलाई समात्न छापा मारिरहेको छ र आप्रवासीहरूसँग ठूलो मात्रामा सोधपुछ गरिरहेको छ ।

ट्रम्प अमेरिकामा अवैध आप्रवासीहरूप्रति धेरै कडा छन् । ट्रम्प राष्ट्रपति बनेको केही घण्टापछि जनवरी २० मा, अमेरिकी सिनेटमा अवैध आप्रवासन सम्बन्धी विधेयक पारित भयो ।

विधेयक ६४–३५ ले पारित भयो । यो विधेयकलाई ‘लेकन रिले ऐन’ नाम दिइएको छ । यो ऐनको नाम जर्जियाकी २२ वर्षीया नर्सिङ विद्यार्थी रिलेको नामबाट राखिएको हो । गत वर्ष भेनेजुएलाका एक नागरिकले उनको हत्या गरेका थिए ।

अब यो विधेयक कंग्रेसमा जानेछ । जहाँ सिनेटले गरेका परिवर्तनहरूमाथि विचार गरिनेछ । यसपछि ट्रम्पले यसमा हस्ताक्षर गर्नेछन्, त्यसपछि यो कानून बन्नेछ । यस कानून अन्तर्गत, प्रहरीले पसलबाट सामान चोरेको, कसैलाई घाइते बनाएको वा कसैलाई मार्ने आरोप लागेका आप्रवासीहरूलाई हिरासतमा लिनुपर्ने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै