काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रुघाखोकीले ग्रस्त भएपछि काठमाडौं उपत्यका बाहिरका पूर्वनिर्धारित कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेका छन् ।
चिसोका कारण रुघाखोकीले प्रधानमन्त्री ओलीलाई ग्रस्त बनाएको र चिकित्सकले आराम गर्न सुझाव दिएपछि पूर्वनिर्धारित कार्यक्रममा भौतिक उपस्थिति रद्द गरिएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । उनका अनुसार बालुवाटारबाटै ओलीले भर्चुअलरुपमा कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए। प्रधानमन्त्री ओलीले आज पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गने, तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेक थ्रु र बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।