काठमाडौँ । चर्चित युट्युबर मिस्टर बिस्ट अर्थात जिम्मी डोनाल्डसनले टिकटक किन्न खोजेका छन् ।
अमेरिकी सरकारले चिनियाँ लगानी भएको टिकटक अमेरिकामा संचालन गर्न अमेरिकी लगानीकर्ता भित्र्याउनु पर्ने कानुन लागु गरेपछि टिकटकले आफ्नो अमेरिकाको स्वामित्व अमेरिकी लगानीकर्तालाई बेच्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।
यस अवस्थामा मिस्टर बिस्टले टिकटकको स्वामित्व किन्न इच्छा व्यक्त गरेका हुन् । सीएनएनका अनुसार मिस्टर बिस्टले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै मैले टिकटक किन्नेछु, त्यसपछि यसमा प्रतिबन्ध लाग्ने छैन भनेका थिए । उनको यस पोष्टलाई मजाकको रुपमा लिइएको भएपनि उनले वास्तवमै टिकटक किन्न प्रस्ताव गरेको खुलेको छ ।
उनका वकिलले सिएनएनसँग कुरा गर्दै लगानीकर्ताहरुसँग मिलेर मिस्टर बिस्टले टिकटक किन्न प्रस्ताव गरेको बताएका छन् ।
मिस्टर बिस्ट युट्युबमा सबैभन्दा बढी सब्सक्राइबर भएका युट्युबर हुन् । मिस्टर बिस्टका युट्युबमा ३४६ मिलियन सब्सक्राइबर रहेका छन् । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अब टिकटकलाई आफ्नो निर्णय गर्न ७५ दिनको समय दिएका छन् ।
यसअघि जनवरी १९ सम्म समय सीमा दिइएकोमा टिकटकले त्यसको केहि घण्टाअघि टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको थियो । तर ट्रम्पले आफुले समय दिने बाचा गरेपछि टिकटकले आफ्नो सेवा सुचारु गरेको थियो ।
ट्रम्पले कार्यकारी आदेश जारी गर्दै टिकटकलाई समय नदिएमा यसको मुल्य शुन्य हुने हुनाले आफुले ७५ दिन समय दिएको स्पष्ट गरेका थिए ।
अमेरिकामा टिकटकका सबै भन्दा बढी प्रयोगकर्ता १७० मिलियन रहेकाले अमेरिकामा टिकटकको स्वामित्व लगानीकर्ताका लागि ठुलो आकर्षण रहेको छ ।