• २०८१ माघ ५ शनिबार

समाजवादी प्रेस संगठनका अध्यक्ष र महासचिवसहितका पदाधिकारी एमाले निकट प्रेस चौतारीमा

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीको समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितका नेताहरु नेकपा एमाले निकट प्रेस चौतारीमा प्रवेश गरेका छन् ।

समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहित उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गरेका हुन् ।

सुवेदीसहितका नेताहरुलाई एमाले महासचिव शंकर पोख्रेल तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमसहितले स्वागत गरेका छन् ।

चौतारीमा प्रवेश गरेका सुवेदीले हालै भएको पत्रकार महासंघको निर्वाचनमा संगठनबाट जितेका ९० प्रतिशत पत्रकारहरु केही दिनमा नै चौतारीमा प्रवेश गर्ने बताएका छन् । केही दिनअघि सुवेदीले एक अनलाइनमा लेखेको लेखलाई लिएर पार्टीले बिहीबार २४ घण्टे स्प्रष्टीकरण सोधेको थियो ।

यसैबीच समाजवादी प्रेस संगठनले सुवेदीलाई कारबाही गरेको छ । आर्थिक हिनामिना गर्नुका साथै संगठनको हित विपरित गतिविधि चलाएको आरोपमा उनलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको संगठनले जानकारी दिएको छ ।

सुवेदीमाथि संगठनको रकम आफूखुशी हिनामिना गरेको गम्भीर आरोप लागेको छ । वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले विज्ञप्ति जारी गर्दै विधानको धारा ७.१ बमोजिम साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको जानकारी दिएका छन् । 

त्यस्तै, सुवेदीले लामो समयसम्म संगठनको बैठक नबसाएको, नेपाल पत्रकार महासंघको हालैको निर्वाचनमा संगठनका उम्मेदवारहरुविरुद्ध लागेको र अध्यक्षको जिम्मेवारीमा रहेको व्यक्तिले निरन्तर संगठनविरुद्ध गतिविधि गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै