काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले बन्धक बनाइएकाहरूको रिहाइको लागि सहमति भएको बताएको छ ।
यसअघि हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाउदै प्रधानमन्त्री नेतान्याहूले युद्धविराम सम्झौतामा मन्त्रिपरिषद्को मतदान स्थगित गरेका थिए ।
शुक्रबार बिहान नेतान्याहूको कार्यालयले वार्ताका लागि गठित टोलीले नेतान्याहूलाई सम्झौता भएको जानकारी गराएको बताएको छ ।
नेतान्याहूको कार्यालयले शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाउन आदेश दिएको बताएको छ । यसपछि सम्झौता अनुमोदन हुनेछ । बन्धक बनाइएकाहरूका परिवारलाई यसबारे जानकारी गराइएको छ ।
इजरायली मिडिया रिपोर्टका अनुसार इजरायल, हमास, अमेरिका र कतारका प्रतिनिधिहरूले दोहामा सम्झौतामा हस्ताक्षर गरेका छन् । बुधबार, अमेरिका र कतारले युद्धविराम सम्झौताको बारेमा पहिलो जानकारी दिएका थिए ।
सम्झौता अनुसार जनवरी १९ देखि युद्धविराम लागु हुने छ, जस अनुसार तीन चरणमा हमासले बन्धकलाई रिहा गर्ने बताइएको छ ।