काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने विषय अन्योलमा रहेको छ ।
बाइडेनले टिकटकको भाग्य अब नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छोड्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । गत वर्ष बाइडेनले टिकटकको मूल कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा आफ्नो कम्पनी बेच्नुपर्ने कानूनमा हस्ताक्षर गरेका थिए । अब बाइडेन सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय आगामी ट्रम्प सरकारमाथि छोडेको बताइएको छ ।
ट्रम्पले पनि पहिले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए, तर अब ट्रम्पले अमेरिकामा टिकटकलाई निरन्तरता दिने पक्षमा रहेको संकेत दिएका छन् । मिडिया रिपोर्टका अनुसार टिकटकका सीईओ शाउ जी चू पनि ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुन सक्छन् र उनलाई अगाडिको पङ्क्तिमा स्थान दिइन सक्छ । नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने संघीय कानूनमा सम्झौता नभएसम्म टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा बढाउन सक्ने प्रावधानहरू रहेको बताएका छन् ।
यसैबीच बाइटडान्सले अमेरिकामा टिकटक सञ्चालन गर्ने अधिकार एलन मस्कलाई बेच्न सक्ने बताइएको थियो । यद्यपि यो कुराको पुष्टि अझै भएको छैन । वरिष्ठ अमेरिकी सांसद चक शुमरले टिकटकमाथि प्रतिबन्ध लगाउने र यसको लागि अमेरिकी खरीददार खोज्ने बारे अन्तिम निर्णय लिन अझै समय लाग्ने बताएका छन् । यद्यपि, धेरै जनप्रतिनिधिहरू छन् जो अमेरिकामा टिकटकमा तत्काल प्रतिबन्ध लगाउने पक्षमा छन् । त्यस्तै एक रिपब्लिकन सांसद टम कटन हुन् । कटन भन्छन्, टिकटक एक चिनियाँ कम्युनिस्ट जासूसी एप हो, जसले हाम्रा बच्चाहरूलाई लत बनाइरहेको छ । उनीहरूको तथ्याङ्क सङ्कलन भइरहेको छ र कम्युनिष्ट प्रचार भइरहेको छ । कटन भन्छन्, टिकटकसँग खरिदकर्ता खोज्न पर्याप्त समय थियो ।