Skip This
  • २०८१ पौष २५ बिहीबार

एमालेको केन्द्रीय समिति बैठक आजदेखि, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्दै

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका विषयमा ठोस धारणा तय गर्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै