चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव पश्चिम चितवनको मेघौलीमा आयोजना हुने भएको छ । महोत्सव पुस १२ गतेदेखि १६ गतेसम्म जानकी माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ ।
महोत्सव संयोजक मायाराम चौधरीका अनुसार महोत्सवमा ५० वटा स्थानीय खानाका स्टल राखिने जानकारी दिइएको छ । थारु, कुमाल, दराई, मगर, गुरुङ, बोते, मुसहरलगायत स्थानीय जातका परिकार महोत्सवका मुख्य आकर्षण हुनेछन् ।
६१ लाखको अनुमानित लागतमा आयोजना हुने महोत्सवमा एक लाखभन्दा बढी पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले महोत्सवको महत्व प्रकाश पार्दै भनिन्- 'भरतपुर भ्रमण वर्ष २०२४ ले यहाँका पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचानमा ठूलो योगदान पुर्याएको छ । एक वर्षको अवधिमा महानगरमा २ लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्रिएका छन् । भ्रमण वर्षले दिगो पर्यटन विकासका लागि नयाँ पूर्वाधार थप्दै होटल र सेवामा सुधार ल्याएको छ ।'
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महोत्सवले स्थानीय बासिन्दालाई आर्थिक उन्नतिका लागि उर्जा प्रदान गर्ने बताए । उनका अनुसार महोत्सवमा ७७ जिल्लाको प्रतिनिधित्व गर्दै ७७ मिटर लामो नेपालको नक्सा विशेष आकर्षणका रूपमा प्रस्तुत गरिनेछ ।
महोत्सवले स्थानीय खानाको प्रवर्द्धन गर्दै समुदायको जीवनस्तर सुधार्न टेवा पु-याउने विश्वास आयोजकको छ। साथै, यसले आन्तरिक र बाह्य पर्यटनमा भरतपुरलाई थप केन्द्रित गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।