चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गएराति नै पोखरा लगिएको छ ।
साहारा चितवन बहुउद्धेश्यिय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधवार राति ८ बजेसम्म बयान लिएर सकिएपछि लामिछानेलाई बिहान ६ बजे पोखरा पुर्याइएको हो ।
पर्सा प्रहरीले पनि पक्राउ पूर्जी जारी गरे पनि आइतबार म्याद थप गर्नुपर्ने कारण उनलाई राती नै पोखरा लगिएको बताइएको ।
बुधबार दिउँसो चितवनमा लामिछानेको बयान चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँसले तितरबितर पारेका थिए । सो क्रममा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते समेत भएका थिए ।
आज बिहान जहाजमा पठाउने गरी टिकट बुक गरिराखेको प्रहरीले हिजोको हुल हुज्जतका कारण सुरक्षा जोखिमलाई आँकलन गरी राति नै गाडीबाट पोखरा लगेको अनुमान गरिएको छ ।
यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको र मङ्सिर ९ गते १५ दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौँ, चितवन र पर्सा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।