काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार सदनदेखि तर्किएर हिँडेको टिप्पणी गरेका छन् । बुधबार संघीय संसद सचिवालयले नगरकोटमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले सरकार संसद्सँग तर्किरहेको र तर्किन नहुने टिप्पणी गरेका हुन् ।
सभामुख घिमिरेले संसद्प्रति सरकार पूर्णरुपमा जवाफदेही हुनुपर्ने बताए । उनले संसद्लाई सरकार जन्माउने आमाको रुपमा चित्रण गर्दै सरकार आमाबाट टाढा हुन नहुने बताए । सरकार आफूलाई जन्म दिएकी आमाबाट टाढा हुने, तर्सिने र तर्किने गरेर हिँडिरहेको उनको भनाइ छ । उनले सरकार संसद्बाट तर्किनु र तर्सिनु गलत हुने बताए ।
गत वैशाख ३० गते सुरु भएको संसद्को वर्षे अधिवेशन भदौ ३० मा अन्त्य गरिएको थियो । त्यसपछि प्रतिपक्षी दलहरुले संसद् अधिवेश बोलाउन सरकारलाई पटक–पटक घच्घच्याइरहेको छ । तर, संसद् अधिवेशन बोलाउने सन्दर्भमा सरकार मौन देखिएको छ ।
संसद् अधिवेशन नबोलाई सरकारले अध्यादेशको बाटो सुरु गरेको छ । सहकारी सम्बन्धी ऐन संशोधन गर्नुपर्नेमा सरकारले अध्यादेश ल्याउने निर्णय गरेको छ ।