काठमाडौँ । आइसीसी च्याम्पियन्स ट्रफीको खेल तालिका सार्बजनिक भएको छ । आयोजक पाकिस्तान रहेको यो प्रतियोगिता हाइब्रिड मोडलमा खेलाइनेछ । पाकिस्तान बाहेक यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (युएई) मा हुने छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार आगामी प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । फेब्रुअरी १९ बाट सुरु हुने प्रतियोगिताको फाइनल मार्च ९ मा हुनेछ ।
आठ टोलीको यो प्रतियोगितामा १५ खेल हुनेछन् । भारतीय टोलीका समुह चरणका सबै खेल दुबईमा हुनेछन् । जबकि अन्य टिमका खेलहरु पाकिस्तानमा मात्रै हुनेछन् । यो प्रतियोगिता १९ दिनसम्म चल्नेछ । पाकिस्तानको रावलपिण्डी, लाहोर र कराँचीले खेलहरू आयोजना गर्दै छ । पाकिस्तानको प्रत्येक मैदानमा तीन समूह खेल हुनेछन् । लाहोरले अर्को सेमिफाइनल खेल्नेछ । यदि भारत फाइनलमा पुग्न सकेन भने लाहोरले मार्च ९ मा फाइनल पनि आयोजना गर्ने छ । यदि भारत छनोट भयो भने फाइनल खेल दुबईमा हुनेछ । सेमिफाइनल र फाइनल दुबैमा रिजर्भ डे हुनेछ । समुहका तीन खेल र भारतको सहभागिता रहेमा पहिलो सेमिफाइनल दुबईमा हुनेछ ।
डिफेन्डिङ च्याम्पियन पाकिस्तानले प्रतियोगिताको उद्घाटन फेब्रुअरी १९ मा न्युजिल्यान्डसँग कराँचीमा खेल्नेछ । पाकिस्तानको अन्तिम लिग खेल २७ फेब्रुअरीमा रावलपिण्डीमा बंगलादेशसँग हुनेछ । च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीचको लिग खेल २३ फेब्रुअरी (आइतबार) हुनेछ । यो खेल दुबईमा हुनेछ ।
समूह ‘ए’ मा भारत र पाकिस्तानबाहेक बंगलादेश र न्युजिल्याण्ड छन् । भारतको समूहमा पाकिस्तानबाहेक अन्य दुई टोली बंगलादेश र न्युजिल्याण्ड छन् । ठूलो खेलअघि भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्नेछ भने पाकिस्तानसँग खेलेपछि टोलीले मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । यी सबै खेल दुबईमा हुनेछन् ।
दोस्रो समूहमा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड र दक्षिण अफ्रिका छन् । भारतीय खेलबाहेक दुवै समूहका खेल लाहोर, कराँची र रावलपिण्डीमा हुनेछन् ।
सेमिफाइनल खेल मार्च ४ र ५ मा हुनेछ । दुवै सेमिफाइनलका लागि रिजर्भ डे राखिएको छ । मार्च ९ मा हुने फाइनलमा पनि रिजर्भ डेको व्यवस्था हुनेछ । पहिलो सेमिफाइनल (यदि भारत पुग्यो भने) युएईमा खेलिनेछ । यदि भारत छनोट हुन सकेन भने खेल पाकिस्तानमा मात्र हुनेछ । त्यस्तै फाइनल खेल लाहोरमा हुनेछ । यदि भारत फाइनलमा पुग्यो भने युएईमा हुनेछ ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार भारत र पाकिस्तानबीचका सबै खेल तटस्थ स्थानमा खेलाइने बताएको थियो । यसको मतलब अब दुवै टोलीले आईसीसीको कुनै पनि प्रतियोगितामा एकअर्काको देशको भ्रमण नगर्ने र दुई टोलीबीचको खेल तटस्थ स्थानमा खेलाइनेछ। यो नियम २०२४-२०२७ सम्म लागू रहनेछ।
खेल तालिका