काठमाडौँ । सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असदले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छन् ।
इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार सिरियामा सत्ताबाट हटाइएकी असदकी पत्नी अस्मा रुसमा बस्न पाउँदा खुसी नभएको उल्लेख गरिएको छ । उनी बेलायत जाने योजनामा रहेको र अस्माले रुसी अदालतमा देश छाड्न पनि निवेदन दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अस्माले सन् २००० डिसेम्बरमा असदसँग विवाह गरेकी थिइन् । उनीसँग बेलायत र सिरियाको दोहोरो नागरिकता छ । अस्माको जन्म सन् १९७५ मा लन्डनमा सिरियाली आमाबाबुको घरमा भएको थियो । अस्माले लण्डनको किङ्स कलेजबाट कम्प्युटर विज्ञान र फ्रान्सेली साहित्यमा डिग्री लिएकी छिन् ।
अस्मा र असदका तीन सन्तान छन्, जसको नाम हाफिज, जीन र करीम हो । उनी आफ्ना सन्तानसँग लण्डनमा बस्ने योजनामा छिन् । डिसेम्बर ८ मा विद्रोही लडाकुहरूले सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि बसर अल-असद देश छोडेर आफ्नो परिवारसँग रुसमा शरण लिएका थिए ।
जेरुसेलम पोस्टका अनुसार बशर अल-असद र उनको परिवार मस्कोमा बस्दै आएका छन् । रुसले उनीहरूलाई शरण दिएको छ तर उनीहरू कडा प्रतिबन्धको सामना गरिरहेका छन् । असदलाई मस्को छोड्न वा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन प्रतिबन्ध लगाइएको छ ।
रिपोर्टका अनुसार रुसी अधिकारीहरूले असदको सम्पत्ति पनि जफत गरेका छन् । यसमा २७० केजी सुन, २ अर्ब डलर नगद र मस्कोमा १८ वटा अपार्टमेन्ट समावेश छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार असदले पनि रुस छोडेर बेलायत जाने योजना बनाएका छन् ।
अर्कोतर्फ रुसले असदका भाइ माहेरलाई शरण दिएको छैन । फाइनान्सियल टाइम्सले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति असदले रुसलाई २५ करोड डलर नगद पठाएको दाबी गरिएको छ ।
उक्त कारोबारमा १०० डलर र ५०० युरोको नोट समावेश भएको प्रतिवेदनले जनाएको छ । तिनीहरूको वजन लगभग २ टन थियो । यो मार्च २०१८ र मे २०१९ को बीचमा दमास्कसबाट मस्कोको भानुकोभो विमानस्थलमा उडाइएको थियो । यो सम्पूर्ण रकम पठाउन २१ उडानहरू प्रयोग गरिएको थियो । मस्को पुगेपछि रुसी बैंकहरूमा जम्मा गरिएको बताइएको छ ।
प्रतिवेदनमा पश्चिमा देशहरूले असद सरकारमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । यस्तो अवस्थामा उनीहरूले डलर र युरो प्रयोग गर्न पाएका थिएनन् । जसले गर्दा उनले यो रकम रूसमा नगद नै पठाएको बताइएको छ ।
यी मिडिया रिपोर्ट सार्बजनिक भएपछि रुसी विदेश मन्त्रालयले भने यी रिपोर्टमा सत्यता नभएको र असद र उनको परिवार मस्कोमा सहज रुपमा बसिरहेको दाबि गरेको छ ।