पोखरा । पोखरास्थित सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता भएको छ । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो । पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन् ।
कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा १९ जनाविरुद्ध पूरक अभियोजन दर्ता गरिएको जनाएको छ । बाँकीविरुद्ध आज मुद्दा दर्ता गरिने कास्की जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ । पहिलो चरणमा पूरक अभियोजन दर्ता गरिएकामा सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत छन्। उनीहरू अहिले पुर्पक्ष थुनामा छन् ।
उक्त सहकारीका पूर्वअध्यक्ष जिबी राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङ फरार छन् । उनीहरूविरुद्ध बचतकर्ताले सामूहिक उजुरी दिएपछि पहिलो चरणमा पक्राउ पुर्जी जारी भएको थियो। पूरक अभियोजन दर्ता गरिएका मध्ये जिबीविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसहित राष्ट्रबैंक कसुर थप गरिएको छ ।
दोस्रो चरणमा जिबीका साझेदार गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक/प्रबन्ध निर्देशक रवि लामिछाने, छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सहकारीका सञ्चालक कृष्ण गुरुङविरुद्ध आज मुद्धा दायर हुदै छ ।
पहिलो मुद्दामा उक्त सहकारीका पदाधिकारीले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ अपचलन गरेको प्रहरीको दाबी छ । तर अहिले पूरक अभियोजन गर्दा १ अर्ब ५१ करोड ४ लाख १९ हजार १ सय ९४ रूपैयाँ बिगो दाबी गरिएको छ । उनीहरूविरुद्ध ८ देखि १० वर्ष कैद र बिगो बराबरको जरिवाना माग गरिएको छ । प्रहरी प्रतिवेदनमा सहकारीका संस्थापक जिबी राई समूहले सहकारी खोलेदेखि रकम अपचलन गर्न थालेको उल्लेख छ ।
सो समूहले नक्कली सेयर सदस्य बनाउने, विभिन्न कम्पनी खडा गरेर पैसा लैजाने, सहकारीको नाममा सम्पत्ति नराखी व्यक्तिका नाममा राख्ने, व्यक्तिका नाममा लगेको रकम पनि कम्पनीका नाममा ट्रान्सफर गर्ने, सहकारीको नियम पालना नगरी रकम निकासा गर्नेलगायत काम गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।