काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि प्रसाई शुक्रबार साँझ रिहा भएका हुन् ।
रिहा भएपछि प्रतिक्रिया दिदै आफुलाई सर्वोच्चले न्याय दिएको बताउदै प्रसाईले आफ्नो तस्करविरुद्धको लडाई जारी रहने बताए ।
प्रसाईलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई पक्राउ गरेको थियो ।
गैरकानुनी रुपमा पक्राउ गरिएको र हिरासतमा राखिएको भनी परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईँलाई रिहा गर्न आदेश दिएको थियो ।
प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए । सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईँको संलग्नताबारे अनुसन्धान भइरहेको छ । सो अभियोगमा प्रसाईँलाई पक्राउ पर्नु पहिला नै प्रहरीले बोलाएर बयानसमेत लिएको थियो । सो समूहका नाइके हरिचन्द्र फुयाल अहिले पनि प्रहरी हिरासतमा छन् ।