• २०८१ मङ्सिर २८ शुक्रबार

परम्परागत शैलीमा महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुननिर्माण सुरु

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको पुननिर्माण सुरु गरेको छ ।

महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन् । त्यस अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नं. ८ का अध्यक्ष आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक एवं वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, कार्यपालिका सदस्यहरु, गुठियार, पुजारीसहित सरोकारवालाले जग पूजा गरेका थिए । 

‘काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्विरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ ।’ त्यस अवसरमा उपप्रमुख डंगोलले भनिन्, ‘प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ ।’
‘पूर्खाले दिएको नासो जोगाउने अभिभारालाई सवैले दायित्वका रुपमा ग्रहण गर्नुपर्छ ।’ सम्पदा समितिका संयोजक संगतले भने, ‘सांस्कृतिक सहरको गरिमा बचाउन समितिले सम्पदा संरक्षण र प्रवर्धनमा नियमित काम गरिरहेको छ ।’  त्यस अवसरमा बोल्दै वडा २२ का अध्यक्ष महर्जनले महाङ्काल मन्दिरको भौतिक स्वरुप जोगाउनु महानगरपालिकाको प्रतिष्ठासँग जोडिएको योजना भएको उल्लेख गरे । ‘वडा नं. २२ मा रहेकोले महाङ्काल र यससँग जोडिएका तीर्थस्थल तथा देवस्थलहरुको एकीकृत सम्बर्धनका लागि वडाले काम गर्नेछ ।’ उनको भनाइ थियो । 

काठमाडौँ पुजारी संघका अध्यक्ष एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले, मूर्त सम्पदासँगै अमूर्त सम्पदा जोगाउन महानगरपालिकाले गरेका कामबाट नतिजा आएको बताउँदै महानगरपालिकाका काममा सरोकारवाला निकायले अवरोध गर्न नहुने धारणा राखे ।  

‘योजनाको लागतअनुमान १० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने विनायक-एसपि-बोहोरा जेभि निर्माण कम्पनीसँग सम्झौता भयो ।’ खरिद प्रक्रिया र लागतका विषयमा जानकारी दिँदै सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले भनिन्, ‘परम्परागत निर्माण सामग्री र शैली पुननिर्माणको मुख्य विशेषता हो ।’ विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालका अनुसार सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । यस माथि बुइँगल हुनेछ । रिजालका अनुसार वि. सं. १९९७ सालमा खिचिएको तस्विरका आधारमा पुननिर्माण गरिन लागेको हो । 

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो । 

सत्तल पुननिर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो । यसबाट ५ वटा प्रस्ताव पेश भएका थिए । यीमध्ये ४ वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई गएको असार १९ गते कार्यादेश दिइएको हो । सत्तलको निर्माण अवधि २०८३ असार १९ गतेसम्म हो । 

मन्दिरका पुजारी दिपकहर्ष बज्राचार्यका अनुसार यो मन्दिर करिब १ हजार ३०५ सय वर्ष अगाडि निर्माण भएको हो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उनले भने, ‘तान्त्रिक शाश्वत बज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ । मन्त्रसिद्धि महाविहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उहाँ बसेको ठाउँमा छेकियो । घामको ताप कसरी छेकियो भनेर साधनाबाट हेर्दा ठूलो आकारको शक्ति देखियो । यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने । तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ । दुष्कर्म गर्नेहरुको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिव्वततर्फ गइरहनुभएको थियो । यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकोले यहाँका सबैको सुख शान्तिका लागि यहीँ बस्न आग्रह गरे । तान्त्रिकको आग्रह सुनेपछि शिवले तीन त्रिभुवनको अवस्था बुझ्नु पर्ने भएकोले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिवार चाहिँ आउने बताउनुभयो । पहिले त मंगलबार र शनिबार मात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे । अहिले सबै दिन आउँछन् ।’ 

शाश्वत बज्रले खिच्दा महाङ्काल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ । प्रहरी कार्यालयसँगै अहिले महाङ्कालको सानो मन्दिर रहेको छ । त्यहाँबाट टुँडिखेलमा सार्नुसँग नेपालकी छोरी भृकुटी तिव्वतबाट फर्कँदा टुँडिखेल छेउमा बास बस्ने गरेको भन्ने भनाइसँग जोडिन्छ । यसबाहेकका अन्य कारण खोजीको विषय रहेको छ । 

यहाँ हिन्दू र वौद्ध धर्मावलम्बीहरुले आस्थापूर्वक पूजा आराधना गर्ने गर्नुहुन्छ । बौद्धमार्गी तिव्वतियनहरुका लागि यो तीर्थ स्थल नै हो । माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्दछन् । महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वाश छ । खराव कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरु मन्दिरको दर्शन गर्न आउँछन् । संकटाको दर्शनपछि महाङ्कालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरुको विश्वाश पाइन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै