काठमाडौँ । वायु प्रदुषण मापनका लागि काठमाडौँ महानगरपालिकाभित्रका १८ ठाउँमा यन्त्र जडान गर्न थालिएको छ । अहिलेसम्म काठमाडौँ प्लाजा, क्षेत्रपाटी, शान्ति बिद्यागृह माध्यमिक बिद्यालय, लैनचौरमा उपकरण राखिएको छ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको हो । हेल्दी सिटिज (स्वस्थ्य सहर) गैरसंक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । यो सञ्जालको महानगरपालिका सदस्य हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भइरहेको छ ।
उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदुषण न्यूनीकरणका लागि काम गरिरहेको बताएकी छन् ।
यी ठाउँसँगै कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा यन्त्र जडान हुनेछ । यस्तै चक्रपथको ठुलो भ¥याङ्, बौद्ध, रत्नराज्य माध्यमिक बिद्यालय, मध्य बानेश्वर, टेकु ट्रान्सफर स्टेशन, वडा नंं २७ कार्यालय, पशुपति मित्र माध्यमिक विद्यालय, चावहिल, जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनीको कार्यालय, जडीवुटी, वडा नं. ५ कार्यालय, नरःदे, वडा नं. २३ कार्यालय ओमवहाल, वडा नंं १ को सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नक्साल र वडा नं. ३१ कार्यालय परिसरमा यन्त्र जडान हुनेछ ।
महानगरपालिकाले पुस महिनालाई ‘वायु प्रदुषण सचेतना’ महिनाका रुपमा कार्यक्रम सञ्चालन गर्दैछ ।
परियोजना प्रमुख इञ्जिनियर सञ्जीव पाण्डेका अनुसार क्ल्यारिटी नोड-एस वायु गुणस्तर सेन्सरहरूले तत्काल अवस्थामा हावामा भएका पिएम २.५ को विवरण उपलब्ध गराउँछन् । यी उपकरणहरू सौर्य ऊर्जाबाट चल्छन् ।
यसबाट उत्पादन भएका तथ्याङ्कहरु उही समयमा महानगरपालिकाको ड्यास बोर्डमा पठाउँछन् । उपकरणले प्रदान गरेका तथ्याङ्कलाई वेव पोर्टल र मोवाइल एप्लिकेसनका माध्यमबाट सर्वसाधारणको पहुँचमा पुर्याउने योजना छ ।
स्वस्थ्य सहर परियोजना गैर संक्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । बिश्व स्वस्थ्य संगठन र विश्वव्यापी स्वास्थ्य संगठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ ।
पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरु सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्तप्रवाहमा मिसिन सक्छन् । यसैकारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य संगठनले पिएम २.५ को वार्षिक औसत ५ माइक्रोग्राम प्रति घनमिटर हुनुपर्ने भनेको छ ।