काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले देशमा तानाशाही स्थापित भएको बताएका छन् ।
सामाजिक सञ्जाल एक्स अकाउन्ट गरेको पोष्टमा आगामी दिनमा पार्टीको आन्दोलनको रूपरेखाबारे जानकारी दिदै खानले तानाशाही स्थापपित भएको बताएका हुन् ।
पोस्टमा भनिएको छ, ‘देशमा तानाशाही स्थापना भएको छ । सरकारी आतंकवादका कारण निर्दोष र शान्तिप्रिय राजनीतिक कार्यकर्तालाई गोली हानी शहीद गरियो । हाम्रा हजारौं कार्यकर्ता बेपत्ता छन् । सर्वोच्च अदालतले अब यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । हाम्रो संवैधानिक भूमिका खेल्नुहोस् । हामीले सर्वोच्च अदालत, लाहोर उच्च न्यायालय र इस्लामाबाद उच्च अदालतमा गम्भीर मानवअधिकार उल्लङ्घनको लागि पुग्यौं, तर अदालतले कुनै कारबाही गरेन र अहिले देश यो अवस्थामा पुगेको छ ।'
पोस्टमा लेखिएको छ, 'हामी शहीदहरूलाई श्रद्धांजलि अर्पण गर्न डिसेम्बर १३ मा पेशावरमा भव्य सभा आयोजना गर्नेछौं र यस भेलामा विपक्षी राजनीतिक दलहरूलाई सहभागी हुन आमन्त्रित गरिनेछ ।'
यस सन्देशमार्फत इमरान खानले ९ मे र नोभेम्बर २६ का घटनाहरूको पारदर्शी छानबिनका लागि न्यायिक आयोग गठन गरी ट्रायलमा रहेका राजनीतिक बन्दीहरूलाई रिहा गर्न माग गरेका छन् । सन्देशमा माग पूरा नभए डिसेम्बर १४ देखि सविनय अवज्ञा आन्दोलन र बहिस्कारको घोषणा गरिएको छ ।
नोभेम्बर २६ मा, तेहरिक-ए-इन्साफ (पीटीआई) का कार्यकर्ता र समर्थकहरूले इमरान खानको रिहाइको लागि बुशरा बीबीको नेतृत्वमा इस्लामाबादमा विरोध प्रदर्शन गरेका थिए ।
आन्दोलनका क्रममा ठूलो मात्रामा पक्राउ र प्रहरीले कारबाही गरेपछि पीटीआईले आन्दोलन फिर्ता लिएको थियो ।