• २०८१ मङ्सिर १६ आइतबार

स्थानीय तहको उपनिर्वाचन आज, ४१ पदका लागि मतदान हुदै

kharibot

काठमाडौँ । आज स्थानीय तहको उपनिर्वाचन हुदैछ । आज हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगले जनाएको छ । मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताईन् ।

आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने÷गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ ।

आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।

स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।  नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिईन् । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताईन् । प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ ।

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम ९पश्चिम भाग०को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहभागी छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

मत परिणाम वेबसाइटमै

मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ ।

मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै