काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गतेको उपनिर्वाचन हुने स्थानीय तहमा सो दिन सार्बजनिक बिदा दिन स्थानीय तहलाई निर्देशन दिएको छ ।
आयोगले स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन नेपाल सरकार, संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
त्यस्तै मतदान स्थल रहेका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थलहरूमा मङ्सिर १३ देखि १६ गतेसम्म सार्बजनिक बिदा दिन निर्देशन दिएको छ ।
त्यस्तै आइतबारका दिन उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई आह्वान गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।