• २०८१ मङ्सिर १० सोमबार

भोजपुरी सुपरस्टार खेसारी लाल रौतहट आउने

kharibot

सञ्जय मिश्रा, रौतहट । विश्व प्रसिध्द गढीमाई मेलाकै तिथि मितिमा रौतहटमा पनि बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना हुन लागेको छ । मेलामा भोजपुरी फिल्मका सुपरस्टार खेसारी लाल यादव सहित दिग्गज कलाकारहरु आउने भएका छन् । 

रौतहटको पूर्विभेग गढीमाई नगरपालिका -४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना हुन लागेको हो । मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको व्यवस्थापन बारे जानकारी दिएका हुन् ।

सुन्दरपुर गढीमाई मन्दिरको मेला यही मङसिर १७ गतेदेखि मङसिर २६ गतेसम्म आयोजना हुँदैछ ।

स्थानीयहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन् । सुपरस्टार खेसारीलालसँगै भारतीय भोजपुरी मोडेल माहिँ र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ ।

मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने र त्यसमा पनि भारत तथा नेपालका ख्याति प्राप्त सुप्रसिद्ध कलाकारहरु आउने भएका कारण मेलाको सुरक्षा व्यवस्था निकै कडा बनाइने भएको छ। भारतीय कलाकारका साथै नेपालका हिन्दी गीत संगीत प्रस्तुत गर्ने कलाकार , टिकटक स्टारहरु संगै स्थानीय भाषामा प्रस्तुत हुने अलहा रुदलको नाच प्रदर्शन हुने सुन्दरपर गढीमाई मेला समितिका प्रवक्ता वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।

सुन्दरपुर गढीमाई मन्दिरमा  मूल तान्त्रिकले आफ्नो सरीरबाट रगत चढाएपछि पशु बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ।

यस मन्दिरमा पनि बलि सुरुहुनु अघी मुसा, परेवा, बोका, राँगा र खरायो गरी पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा रहेको छ।पंचवर्षीय सुन्दरपुर गढीमाई मेलाको तयारी तिव्र रुपमा अगाडि बढाइएको छ। मेलाका लागि ६० वटा घुम्ती र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ ।

सयौं स्वयंसेवक संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मेला तथा आउने भक्तजनको सुरक्षाका लागि परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।६५ बर्ष अघि स्थानिय धामी झाँक्री जागा ठाकुरले सपनामा गढीमाईको दर्शन गरेपछि माताकै आदेशमा सुन्दरपुरमा स्यानो मन्दिर निर्माण गरी पूजा पाठ सुरुगारेका थिए। बारा गढीमाई सरह प्रत्येक पाँच बर्षमा त्यहाँ मेलाको आयोजना हुँदै आएको छ। स्थानीय निकायको निर्वाचन पछी गढीमाई नगरपालिकाको मेयरपदमा पहिलो पटक श्याम प्रसाद यादव निर्वाचित भएपछी सुन्दरपुर गढीमाईको मन्दिर निर्माण देखी वृहत रुपमा मेलाको आयोजना हुँदै आएको छ। मेयरपदमा श्याम प्रसाद यादव दोस्रो पटक निर्वाचित भएका हुन्। सुन्दरपुर मन्दिरका मुलपुरारी जागा ठाकुरको निधन पछि उनको छोरा रामदेव ठाकुर मुलपुजारी रहेका छन्।

रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ हजार राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।  मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ।

दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले बुधवार साँझ आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै